माछामा आत्मनिर्भर बन्दै कपिलवस्तु

Posted on: 15 Apr, 2018

चुरामणि अर्याल/वैशाख २ कपिलवस्तु | कपिलवस्तु जिल्ला पछिल्लो समय माछामा आत्मनिर्भर हुन लागेको छ । अन्य बालीभन्दा राम्रो आयआर्जन हुने र माग पनि बढी भएकाले यहाँ माछापालन गर्ने कृषकको संख्या बढ्नुका साथै उत्पादन पनि बढेकाले जिल्ला माछामा आत्मनिर्भरतर्फ उन्मुख भएको हो । 

जिल्लामा माछाकै लागि सात सय हेक्टरमा पोखरी खनिएको छ । यसबाट वार्षिक एक हजार दुई मेट्रिकटन माछा उत्पादन भइरहेको छ  । उत्पादन राम्रो भएकै कारण पछिल्लो समय भारतीय माछाको आयात पनि कमी भएको छ । 

पाँच वर्षअघि ८० प्रतिशतभन्दा बढी माछा आयात भएकामा अहिले ३० प्रतिशतमा झरेको छ  । यहाँको उत्पादनले जिल्लाको ५० प्रतिशत माग धान्छ । कृषि प्राविधिकका अनुसार २० प्रतिशत माछा अन्य जिल्लाबाट आउने गरेको छ । अहिले मुलुकमै बढी माछा उत्पादन गर्ने रूपन्देही र जनकपुरलाई यस जिल्लाले दुई वर्षमा पछि पार्ने जिल्ला कृषि कार्यालयका प्रमुख खुर्सेदअहमद खाँले बताउनुभयो । 

जिल्लामा प्राकृतिक जलाशय बढिरहेको र धेरै इँटाभट्टा बन्द रहेकाले त्यसमा माछापालन गर्न पोखरी खन्न नपर्दा कम लगानीमै काम गर्न सकिदा कृषकहरू यसतर्फ आकर्षित भएका हुन् । 

जग्गा भाडामा लिएर पनि पोखरी खनी माछापालन गर्न पनि कम लगानी हुने हुँदा यसमा कृषकको यसतर्फ आकर्षण बढेको हो  । जोखिम कम आम्दानी बढि हुन्छ कृषिका योजना अधिकृत उमेश श्रेष्ठले भन्नुभयो, “त्यही भएर माछापालनले व्यावसायिकता पाउँदै आएको हो  । जिल्लामा माछापाल्ने छसय कृषकमा एकसय महिला छन् ।” 

तीन वर्षअघि चारसय हेक्टरमा माछापालन गर्दा जम्मा आठसय मेट्रिकटन माछा उत्पादन हुन्थ्यो । अहिले माछापालन क्षेत्र पनि बढेर सातसय हेक्टर पुगेको छ, भने उत्पादन पनि वृद्धि भएर एक हजार दुईसय मेट्रिकटन पुगेको छ । चालु वर्षमा थप एक सय हेक्टरमा माछापालन हुने भएकाले अन्य जिल्लाबाट आउने माछा अझै घट्ने प्रमुख खाँको दाबी थियो । 

जिल्लाको पश्चिमी र उत्तरी क्षेत्रमा बढी माछा उत्पादन हुन्छ  । जिल्लामा वार्षिक २४ करोडभन्दा बढी आम्दानी हुन्छ । सिल्भर, ग्रास, बिगहेट, कामन, रोहु, भाकुर र नैनी जातका माछा बढी उत्पादन हुन्छ । ‘तीन वर्षअघि क्षेत्रीय कार्यालय र विभागबाट माछा पोखरी हेर्न कोही आए कहाँ लगेर देखाउने भन्ने हुन्थ्यो,’ प्रमुख खाँले भन्नुभयो,“अहिले सजिलो छ  ।” 

गतवर्ष ६६ नयाँ किसानले व्यावसायिक रुपले माछा पोखरी बनाएका थिए । उनीहरूले ६ कट्ठादेखि तीन बिघासम्ममा पोखरी बनाएका छन् । यसवर्ष ४० कृषकले पोखरी खनेर माछा पालनको तयारी गरिरहेको कृषि कार्यालयले जनाएको छ । जिल्लामै ठूला पोखरी बनाएर शिवराज नगरपालिका–११ हरहवाका फरहान र फुरकान अकवाल खाँले माछा पालेका छन् । रु दुई करोड ७० लाख लगानी गरेर फर्म सञ्चालन गरेकामा वर्षेनी ६० देखि ७० लाखमात्र आम्दानी गर्न सफल भएको चर्चा गर्दै फरहान अकवाल खाँले भन्नुभयो, “राज्यको नीति राम्रो नहुँदा समस्या भइरहेको छ  ।” उहाँको माछाको भुरा देशका १८ देखि २० जिल्लासम्म पुग्ने गर्छ  । 

वाणगंगा नगरपालिका –६ चम्कीपुरका भरतबम कार्कीले पनि दुई वर्षदेखि माछापालन शुरु गर्नुभएको छ । रु २५ लाखभन्दा बढी लगानी गरेर उहाँले साढे ९ लाख भुरा र ३० हजार माछा पाल्नुभएको हो । 

पाँच वर्षअघि तीन बिगाहामा माछापालन थाल्नुभएका शिवराज नगरपालिका–६ वसन्तपुरका लक्ष्मण भण्डारीले गतवर्ष थप चार बिघामा पोखरी खन्नुभएको थियो । 

राम्रो आम्दानी भएरै उहाँले अहिले माछापालनमा मात्र ७० लाखभन्दा बढी लगानी गरिसक्नुभएको छ । धान गहुँभन्दा दुईसय प्रतिशत बढी आम्दानी हुने हुँदा केही वर्षयता कृषकयसतर्फ आकर्षित हुन थालेका हुन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!