कपिलवस्तु: तीनपटक म्याद थप्दा पनि बनेन स्वास्थ्य चौकी

Posted on: 02 Feb, 2018

माघ १९, कपिलवस्तु । यहाँको बैदौली स्वास्थ्य चौकीको भवन बनाउन तीन पटक म्याद थप गर्दासमेत निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । 

यशोधरा गाउँपालिका–५, बैदौलीमा रहेको स्वास्थ्य चौकी भवन निर्माण शहरी विकास मन्त्रालयअन्तर्गत शहरी विकास डिभिजन भैरहवाले श्री अर्घाखाँची/तपेश्वरी जेभीलाई रु एक करोड ७६ लाख ८६ हजार २२३ मा ठेक्का दिएको थियो । 

२०७२ असार २९ देखि काम शुरु गरिएको भए पनि आजसम्म भवन निर्माण सम्पन्न हुन सकेको छ । सम्झौताअनुसार ठेकेदारले २०७३ असोज २८ गतेसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने हो । तर ठेकेदारको लापर्बाहीले तोकिएको समयमा भवन निर्माण सम्पन्न नभएपछि पटकपटक म्याद थपिएको थियो । 

पटकपटक म्याद थप्दासमेत भवन निर्माण सम्पन्न नभएको भन्दै स्थानीयवासी तथा स्वास्थ्यकर्मी आक्रोशित बनेका छन् । सो स्वास्थ्य केन्द्रमा आउने बिरामीले समेत सास्ती भोग्नुपरेको छ । 

भवन निर्माण सम्पन्न गर्न तोकिएको समयबाहेक डेढ वर्ष नाघिसक्दासमेत भवन निर्माण अलपत्र छ । भवनभित्र झ्याल ढोका राखिएको छैन भने खानेपानी र शौचालय पनि निर्माण गरिएको छैन । 

निर्माण व्यवसायीले समयमै निर्माण कार्य पूरा नगर्दा आफूहरुले सास्ती भोग्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । भवनमा शौचालय र खानेपानीजस्ता आवश्यकीय भौतिक संरचना नबनाईदिँदा सेवाग्राही समस्यामा पर्ने गरेका छन् । 

स्वास्थ्यचौकीमा आउने सेवाग्राहीलाई शौचालय र खानेपानीको उपलब्धता नहुँदा समस्या परेको यशोधरा–वसन्तपुरका भानमती चाइले जानकारी दिनुभयो । स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनका लागि प्राविधिक तथा स्वास्थ्यकर्मी खटिए पनि भवनकै कारण समस्या देखिएको छ । ल्याबका लागिसमेत ११ कर्मचारी छन् तर सेवा प्रवाहको कार्य प्रभावित बनेको छ । 

शौचालय र खानेपानीको प्रबन्ध नहुँदा बर्थिङ सेन्टर सञ्चालनको कार्य प्रभावित बनेको छ । आफ्ूहरु एक साताकै अवधिभित्र बर्थिङ सेन्टर र सुविधा सम्पन्न ल्याब सञ्चालनको तयारीमा रहेको भए पनि शौचालय र खानेपानीको व्यवस्था नहुँदा योजना प्रभावित भएको स्वास्थ्य चौकीका सिनियर अहेब वीरेन्द्र मिश्राले बताउनुभयो । 

शहरी विकास डिभिजन, भैरहवाले समयमै रकम निकासा नदिँदा निर्माण कार्य सम्पन्न गर्न नसकिएको ठेकेदार तपेश्वरी कहाँरले बताउनुभयो । थपिएको म्यादअनुसार माघ मसान्तसम्म समय सीमा पाएका छाँै, उहाँले भन्नुभयो । 

उता सो विषयमा प्रतिक्रिया लिँदा शहरी विकास डिभिजन भैरहवाका प्रमुख सुरेश ठाकुरले समयमै रकम निकासा नदिइएको भन्ने विषयमा सत्यता नभएको बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!