भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी भारतीय मालबाहक ट्रक नेपाल भित्रिदैं

Posted on: 24 Feb, 2018

फागुन १२, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर भन्सार नाका हुँदै नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले भारबाहन क्षमताभन्दा दोब्बर लोड गरेको पाइएको छ । 

यातायात व्यवस्था विभागले नेपाली नम्बर प्लेटका सवारी चक्काको आधारमा १२ चक्के ट्रकको अधिकतम भारबाहन क्षमता २१ टन कायम गरिएको छ तर यस नाकाबाट नेपाल भित्रिने अधिकांश भारतीय नम्बरका १२ चक्के मालवाहक ट्रकले ४० टनभन्दा बढी लोड गरेको अनुगमनका क्रममा पाइएको छ । 

यसरी अनुगमनका क्रममा शुक्रबार मात्र करिब ६० भारतीय मालवाहक ट्रक भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी नेपाल भित्रिएको पाइएको छ । यातायात व्यवस्था कार्यलय लुम्बिनी बुटवलको नेतृत्वमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु र बाणगंगा यातायात व्यवसायी समितिको संयुक्त अनुगमन टोलीले नेपाल भित्रिने अधिकांश भारतीय मालबाहक ट्रकले नेपाल सरकारले कायम गरेको भारवाहन क्षमताको दोब्बर लोडसहित नेपाल आउने गरेको पाइएको छ ।

यसरी भारबाहन क्षमताभन्दा दोब्बर लोड गरी नेपाल भित्रिएको भारतीय मालवाहक ट्रकले राजश्वसमेत छल्ने गरेको पाइएको छ । अनुगमनका क्रममा पि ८१३ एडब्लु ८१६० नं को भारतीय मालबाहक ट्रकले भारतको बलरामपुरमा गाडी तौल गर्दा सामानसहित ४१ टन देखाइएको छ भने सोही गाडी नेपाली तौलपुलमा ४६ टन देखिएपछि पाँच टनको राजश्वसमेत छलेर ती गाडी नेपाल आउने पुष्टि भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ । 

यातायात व्यवस्था कार्यालय लुम्बिनी बुटवलका कार्यालय प्रमुख गगन हमालले ओभरलोडसहित नेपाल भित्रिएका त्यस्ता भारतीय मालवाहक ट्रकलाई कारबाही गरिने बताउनुभयो । 

विगतमा भारतीय मालवाहक ट्रकले ओभरलोडका साथ निर्वाध गुड्ने गरेको भन्दै व्यावसायीले पटकपटक अनुगमनका लागि माग गरिरहँदा पनि जनशक्तिलगायत पूर्वाधार कमीका कारण अनुगमन गर्न नसकिएको उल्लेख गर्दै उहाँले स्थानीय यातायात व्यवसायी सस्थासँगको सहकार्यमा आगामी दिनमा अनुगमनलाई निरन्तरता दिइने बताउनुभयो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख अमरबहादुर कार्कीले भन्सार कार्यालयको लापर्बाहीका कारण भारतीय मालबाहक ट्रक ओभरलोडका साथ नेपाल भित्रिन गरेको बताउँदै भन्सार कार्यालयबाट नै भन्सार गर्ने क्रममा लोड मिलान गरेर पठाउनुपर्नेमा त्यसो नगरिदिदाँ ओभरलोडको समस्या देखिएको भन्नुभयो । 

“ ओभरलोड भएका भारतीय मालवाहक सवारीलाई कारबाही गर्दै आएको छु, ३५ टन बोक्ने क्षमता भएका ट्रकले ७०÷८० टनसम्म ओभरलोडका साथ आउने गरेका पनि छन्,” उहाँले भन्नुभयो—“हामीले पटकपटक भन्सार कार्यालयलाई अनुरोध गर्दा पनि यसतर्फ खासै ध्यान दिएको पाईदैन्् ।” 

अब नियमितरुपमा भारतीय गाडीलाई नेपाली तौलपुलमा हाली तौल गरेर मात्र पठाउने बाणगंगा यातायात व्यवसायी समितिका महासचिव लक्ष्मण भुसालले बताउनुभयो । 

कृष्णनगर भन्सार कार्यालयका प्रमुख बिन्देस्वरप्रसाद लेखकले राजश्व छली नभएको तर केही गाडीमा ओभरलोडको समस्या हुन सक्ने बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!