सभापतिकै मिलेमतोमा स्वतन्त्र उम्मेद्वार खडा

Posted on: 21 Jun, 2017


दिपक अनुरागी/असार ७, कपिलवस्तु । पार्टिको नीति विधान अनुसार नचल्ने कुनै पनि नेता तथा कार्यकर्ता कार्रबाहिको भागिदार बन्छ । 

अझ नेपालका राजनितिक दलहरुले त जिल्ला तहका कुनै पनि नेतालाई सामान्य कमजोरी गर्दा पनि कार्रबाहि गरेका प्रशस्तै उदाहरण छन् । तर कपिलवस्तु कांग्रेसमा अचम्मको खेल भएको छ । कांग्रेस जिल्ला सभापति सुरेन्द्रराज आचार्यले पार्टि नीति विपरित गई स्वतन्त्र उम्मेद्वार खडा गरि असल कांग्रेस कार्यकर्ताको मन दुखाएका छन् । 

जिल्लाको शिवराज नगरपालिकामा कांग्रेसले मेयर पदको लागि पार्टि जिल्ला सचिव प्रेम बहादुर रायमाझीलाई उठाएको छ । रायमाझीलाई मेयर पद उठाए पनि उपमेयर पद भने खाली राखिएको थियो । मधेसबादी दल संग चुनावी तालमेल गर्ने भनि उपमेयर कांग्रेसले खाली राखेको हो । तर निर्वाचनको मिति नजिकिदै गईरहेको बेला शिवराजमा न त कांग्रेसले कसै संग तालमेल ग¥यो ! न त उपमेयरमा उम्मेद्वार नै उठाउन ! 

आइतबार मनोनयन दर्ता सम्म पनि कुनै पार्टि संग चुनावी तालमेल नभए पछि कांग्रेसले उपमयेरमा कस्लाई उठाउला भन्ने राजनितिक बृत्तमा कौतुहलता बढ्दै थियो । यद्यपि सबैको कौतुहलतालाई साम्य पार्दै कांग्रेसले शिवराजमा मेयर पदमै उम्मेद्वारी दर्ता गरेन । नगरको मेयर सहित वडा अध्यक्ष र सदस्यको दलबलको साथ उम्मेद्वारी दर्ता भएपनि उपमेयरमा खाली रोखेको हो । 

अन्तिम समय सम्म पनि मेयर पदमा दाबी गरिरहेका पार्टि जिल्ला सदस्य हरी प्रसाद पोख्रेललाई मनाउन सभापति आचार्यले उपमेयरमा स्वतन्त्र उठाएका हुन् । संबिधानमा स्थानिय तहका प्रमुख, उपप्रमुख पद मध्ये एउटामा अनिवार्य महिला उठाउनु पर्ने कानुनी प्रावधान रहे पनि कांग्रेस कपिलवस्तुमा यो रहेन । कानुनको यो बाध्यकारी नीति कांग्रेस कपिलवस्तुलाई गलफासो भएको प्रष्टै देखिएको छ । किनकि महिलालाई दिनुपर्ने पद कांग्रेस कपिलवस्तुले पुरुषलाई दिएको छ । यसले महिला प्रति कांग्रेस उदार छैन् भन्ने प्रष्टै भएको छ भने कांग्रेसको विधानलाई सभापतिले ठाडै मिच्न पाउने रैछ भन्ने पनि प्रमाणित भएको छ । 

प्रजातान्त्रिक विचारमा आस्था राख्ने मुलुकै सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस कपिलवस्तुले महिला उम्मेदवारलाई कानुनी अधिकारबाट बन्चित गराएको छ । पार्टीका वफादार, अतिक्रियाशिल शिवराज नगरपालिकाको उपमेयर पदका आकांक्षी दुई जना महिलालाई नेपाली कांग्रेसले उपेक्षा गरेको छ । जिल्लाको दुईवटा निर्वाचन क्षेत्र ४ र ५ तथा नगरपालिकाको ११ वटै वडाबाट सिफारिसमा परेका उपमेयरका आकांक्षी दुई महिलालाई अधिकारबाट बन्चित गराएपछि उनीहरु आक्रोसित छन् । दुवै क्षेत्रबाट उपमेयरका लागि रीता पौडेल र गोमा पाण्डेयलाई सिफारिस गरी जिल्लामा पठाएको नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि कृष्णप्रसाद पौडेलले बताए । 

नेपाली कांग्रेसको जिल्ला उम्मेदवार छनौट समितिका ८ मध्ये ७ जनाले पहिलो प्राथमिकतामा रीता पौडेल र दोस्रोमा गोमा पाण्डेलाई उपमेयरका लागि मौखिक सहमति जनाएको पौडेलले जानकारी दिए । कांग्रेस जिल्ला सभापति आचार्यले मेयरको छनौटपछि उपमेयर पछि छनौट गर्ने भनी आश्वासन दिई आलटाल गर्दै आएको महाधिवेशन प्रतिनिधि पौडेलले बताए । अन्तिम अवस्थामा आई महिलाको कानुनी अधिकारबाट बन्चित गरी ठूलो धोखा दिएको उम्मेदवारका आकांक्षी दुवै महिलाको गुनासो छ ।

लामो समयदेखि नेपाली कांग्रेसका क्रियाशिल सदस्य रहेकी शिवराज नगरपालिका ५ बस्ने रीता पौडेलले महिलाको हक अधिकार खोसेर नेपाली कांग्रेसले ठूलो गल्ती गरेको आरोप लगाइन् । स्वतन्त्रको नाममा नेपाली कांग्रेस जिल्ला समिति सदस्य तथा जिल्ला अनुशासन समिति सदस्य रहेका हरिप्रसाद पोख्रेललाई उपमेयरमा उम्मेदवारी दर्ता गराएको रीताले आरोप लगाइन् । अनुशासनका सदस्यले नै अनुशासन उलंघन गरी महिलालाई न्यायपालिका जस्तो गरिमामय उपमेयरको पदबाट बन्चितीकरण गरेको पौडेलले गुनासो गरिन् । पार्टी नेतृत्वले आर्थिक चलखेलमा सक्षम नेतृत्वका महिलालाई समेत अधिकारबाट बन्चित गरेको पौडेलको आरोप छ ।

नेपाली कांग्रेसले आफूलाई आश्वासन दिएर अधिकार हनन् गरेकाले आफू उपमेयर पदमै स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराएको रीता पौडेलले जानकारी दिइन् । यस्तो निन्दनीय कार्यप्रति ठूलो आपत्ति जनाउँदै पौडेलले यस्ता घृणित कार्य गर्नेलाई सबक सिकाउन जरुरी रहेको बताइन् । आफू स्वतन्त्रबाट उपमेयर पदमा उम्मेदवारी दिएकाले सबैसँगै सहयोगको याचना समेत गरिन् ।

यता उपमेयरकै आकांक्षी शिवराज नगरपालिका १ की गोमा पाण्डेले आफूलाई ठूलो धोका दिएको आरोप लगाइन् । क्षेत्र नं. ४ बाट महाधिवेशन प्रतिनिधि रहेकी पाण्डेले पार्टीभित्र ठूलो चलखेल भएको आरोप लगाइन् । उपमेयरको आश्वासन दिएको नेपाली कांग्रेसले आफूलाई उपेक्षा गर्नु सम्पूर्ण महिलाकै अधिकार खोसेको पाण्डेयले बताइन् । महिलाको हक अधिकारबाट बन्चित गरी नेपाली कांग्रेसलाई आफ्नो वास्तविक औकात देखाएको उनले आरोप लगाइन् । नेपाली कांग्रेसको यस्तो घृणित कार्यप्रति आफू निकै दुःखी भएको बताउँदै उनले पार्टीकै छविमाथि ठूलो प्रश्नचिन्ह खडा भएको बताइन् ।

स्थानीय तहको निर्वाचनमा सरकारले ४० प्रतिशत महिलालाई सहभागिताको अधिकार दिने बाध्यकारी ब्यवस्था सरकारले अगाडि सारेको छ । सोही बमोजिम शिवराज नगरपालिकामा नेपाली कांग्रेसबाहेक अन्य सबै राजनैतिक दलहरुले सबै उपमेयर पदमा मात्र महिला उम्मेदवार उठाएका छन् । नेकपा एमालेले जुझारु युवा देशकै सबैभन्दा कान्छी उम्मेदवार शिवकुमारी थारुलाई उपमेयर पदमा मनोनयन दर्ता गराएको छ । यस्तै माओबादी केन्द्रले श्वेता गिरी, राप्रपाले सविता थारु, संघीय समाजबादी फोरम नेपालले सुमन यादव र जनमोर्चाले इन्द्र कुमारी खनाललाई उपमेयरमा उम्मेदवार बनाएका छन् ।

फोटो क्याप्सन: नेपाली कांग्रेसले महिलालाई हक अधिकारबाट बन्चित गरेपछि कपिलवस्तुको शिवराज नगरपालिकाको उपमेयर पदमा स्वतन्त्रबाट उम्मेदवारी दिएकी शिवराज नपा ५, चन्द्रौटाकी रीता पौडेल ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!