शिवराज नगरका नव निर्वाचित जनप्रतिनिधिलाई विद्यालयद्वारा सम्मान

Posted on: 10 Jul, 2017


मो इमरान खान/असार २६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख नेत्रराज अधिकारीले शिवराजलाई सुन्दर, समुन्नत र उत्कृष्ट नगर बनाउने उदघोष गर्नुभएको छ । 

सरस्वती निमावि शिवपुर कपिलवस्तुद्वारा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख अधिकारीले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षा, स्वास्थ्य, कृषि सिंचाई र पूवार्धारका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।  

मधेशी र पहाडी बीचको दुरीलाई कम गर्दै जातीय र सामाजिक सद्भाव कायम गर्न पहल कदमी चाल्ने उहाँले बताउनुभयो । एक्लो प्रयोसले केही हुँदैन, आफ्नो टिमलाई सबैको साझाको रुपमा अगाडि उभ्याई आम नागरिकको भावनाको कदर गर्दै सबैले महसुस हुने गरी काम गर्ने उहाँले बताउनुभयो । 

नवनिर्वाचित उपमेयर शिवकुमारी चौधरीले पछाडि परेका थारु समुदायलाई शिक्षाको मूल प्रवाहीकरणमा ल्याउन पहिलो कदम चाल्ने प्रतिबद्धता जाहेर गर्नुभयो । थारु समुदाय अझैपनि शिक्षा र स्वास्थ्यबाट बञ्चित हुनुपरेको समस्या दर्शाउँदै उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । यसका साथै अन्यायको विरुद्ध आवाज उठाउने उहाँले प्रतिबद्धता जाहेर गर्नुभयो । 

नवनिर्वाचित वडाध्यक्ष एवं विद्यालयका अध्यक्ष रहेको जगतबहादुर जिसीले स्थानीय स्रोतसाधनको सदुपयोग र संरक्षण गर्दै वडाभित्र रहेका शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखी विकास कार्यलाई अघि बढाउने प्रतिबद्धता जाहेर गर्नुभयो । यता कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालयका संस्थापक अध्यक्ष छन्दबहादुर सिंह जिसीले नव निर्वाचित जनप्रतिनिधिहरुको कार्यसफलताको शुभकामना दिंदै हरेक नागरिकले महसुस हुने गरी काम गर्नुपर्ने सुझाव दिनुभयो । 


यसैगरी कार्यक्रममा समाजसेवी शिक्षाप्रेमी लंकबहादुर हमाल, ज्ञानीराम पुरी, विष्णुप्रसाद अधिकारी, ऋषिराम खनाल, सुमित्रा गिरी लगायतले नवनिर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामविलास मण्डलले विद्यालयको समस्या दर्शाउँदै विद्यालयको चौतर्फी विकासका लागि सहयोगका अपेक्षा राख्नुभयो । एउटै गाउँबाट मेयर, उपमेयर र वडाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु शिवपुरबासीका लागि गौरबको विषय बनेको प्रअ मण्डलले औल्याउनुभएको थियो ।

 कार्यक्रममा प्रमुख अतिथि विद्यालयका संस्थापक अध्यक्ष छन्दबहादुर सिंह जिसी र कार्यक्रमका अध्यक्ष एवं शिक्षक अभिभावक संघका अध्यक्ष कृष्णकला भारतीले टिका र खादाले सम्मान गर्नुभएको थियो । भने विद्यालयका पञ्चकन्याले नवनिर्वाचित पदाधिकारीहरुलाई माला लगाई सम्मान गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!