कपिलवस्तुका अग्निपीडितको प्रश्न, के हामी नेपाली होइनौँ !

Posted on: 05 Jan, 2017

पुस २१, कपिलवस्तु । कपिलवस्तुका अग्निपीडित भन्छन्, सरकारले हामीलाई बिर्सियो । हामीलाई दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गरियो । 

तेह्रथुमका जनताले २० दिनमै राहत पाउने हामीले कहिले पाउने भनेर गुनासो गरेका छन् । कपिलवस्तुमा २०७२÷७३ मा एक हजारभन्दा बढी घर टहरा जलेर खरानी भएको सरकारलाई पत्तोसमेत छैन भन्दै अग्निपीडितले गुनासो गरेका छन् । उनीहरुले के हामी नेपाली नागरिक होइनौँ भन्दै सरकारसँग राहतको माग गरेका छन् । 

कपिलवस्तु पिपरीका अग्निपीडित भन्छन् यही पुुुस १ गते तेह्रथुम जिल्लाको आठराईस्थित सक्रान्ति बजारमा आगलागी हुँदा प्रधानमन्त्री राहतकोषबाट रु एक करोड राहत दिने तर हामी घरबारविहीन हुँदा हामीलाई राहत नदिने यो कस्तो सरकार भनेर आक्रोस पोखेका छन् । 

हामीलाई किन विभेद गरेको कपिलवस्तु पत्थरदेइयाका राम निवास कोरीले प्रश्न गर्नु भयो । 

गत २०७२ फागुन २० गते कपिलवस्तुको पत्थरदेइया गाविस–४ मैनारीमा आगलागी हुँदा ३६ घर गोठ जलेर खरानी भएको थियो । रु ५० लाखको सम्पत्ति नष्ट हुनका साथै स्थानीय एक वृद्धा जलेर गम्भीर घाइते भएकी थिइन् । उनको पाल्पाको मिशन अस्पतालमा दुई सातापछि मृत्यु भएको थियो । यस्तै २०७२ चैत दोस्रो साता बलरमवापुर–४ प्रतापपुरमा आगलागी भयो । प्रतापपुरका एक दर्जन घर जलेर पूर्णरुपमा नष्ट भयो । 

चैतकै २६ गते कुशाहवामा आगो लाग्यो घर गोठ गरी कुल १२५ टहरा सखापै भएको थियो । चैत २७ गते शिवराज नगरपालिकाको रुद्रपुरमा सात घर जलेर खरानी भए । २८ गते धमैनगरमा १४ घर जले । 

विसं २०७३ वैशाख ३ गते जहदी गाविसको रेहरामा २८ घर जलेर खरानी भयो । वैशाख ८ गते कजरहवा–९ सिग्ररहवामा ३५ घर जल्यो दुई बालबालिकाको मृत्यु पनि भयो । त्यस्तै वैशाख ९ गते कपिलवस्तुको शिवराज नगरपालिका–७ पिपरीमा आगलागी भयो घर गोठ गरी ३५ टहरा खरानी भयो । कपिलवस्तुमा आगलागीबाट मानवीय र ठूलो धन सम्पत्ति नष्ट हुने गरेको छ । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!