संरक्षणका लागि बराहदहमा मेला आयोजना

Posted on: 05 Jan, 2019

माधब बेल्वासे | पुष २१, कपिलवस्तु | राष्ट्रिय स्तरका नेताहरु पुगेपछी विकास हुनेमा जनताहरु ढुक्क हुने गर्दछन । नेताहरुलाई पछाडि परेको ठाउमा पुर्याउनको लागी मेला देखी सभा सम्म आयोजना हुने गर्दछन । यस्तै अर्घाखाची जिल्लाको गोही पाइने धार्मिक दहको संरक्षण तथा पर्यटकिय रुपमा प्रवर्धन गर्न पाचौं बराहदह माघी एवम् सांस्कृतिक मेला आयोजना हुने भएको  छ । 


पूर्व पश्चिम सडक दाङ जिल्लाको धानखोलादेखि करिब १० कि.मि. उत्तरमा पर्ने ठाडाखोला र लामिदमारको बिचबाट बग्ने मथुराखोलामा प्राकृतिक रुपमा श्रृजित दह छ । किवदन्ति भनाई अनुसार दहमा बराह देवताको शक्ति रहेकोले त्यस दहको नाम बराहदह रहेको  विश्वास गरिन्छ । धार्मिक स्थल बराहदहमा पूजा गर्न छिमेकी जिल्ला दाङ, प्यूठान, कपिलवस्तु लगायतका विभिन्न जिल्लाबाट पौष मसान्तामा बास बस्न भक्तजनहरु आउने गर्छन् र माघ १ गतेका दिन बिहानै देखि दर्शालु भक्तजनको घुइँचो लाग्ने गर्दछ । दहमा स्नान गरी बराह भगवानसगँ बर मागेमा वा भाकल गरेमा सोंचेको पुग्ने, पापनष्ट एवम् रोगव्याधी निको हुने विश्वास गरिन्छ ।

यस्तो महत्व बोकेको यस दहलाई धार्मिक एवम् पर्यटकिय रुपमा विकास एवम् प्रवर्धन गर्न विगत ४ वर्ष अगाडि देखि औपचारीक रुपमा बराहदह मेलाको आयोजना गरिदै आएको छ । दहलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सबै पक्ष लाग्नु पर्ने बराहदह संरक्षण समितिका अध्यक्ष पदम केसीले बताए । बराहदह संरक्षण समितिले दहलाई धार्मिक एवम् पर्यटकीय क्षेत्रको रुपमा प्रचार प्रसार र प्रवर्धनको लागि यस वर्ष पनि सभ्य र भव्य रुपमा पाचौँ बराहदह माघि एवम् सांस्कृतिक मेलाको आयोजना गर्न लागिएको समितिका अध्यक्ष केसीले जनाए । 

कार्यक्रम सफल बनाउन विभिन्न उपसमितीहरू समेत गठन गरिएको छ । कार्यक्रम एवम् प्रचारप्रसारमा गणेश बेल्बासे, आर्थिकमा खुम बहादुर लुईचे, स्टेज व्यवस्थापनमा पूर्ण बहादुर केसी, अतिथी सत्कारमा अमृता केसी, मेस व्यवस्थापनमा केशव सारू, संवयमसेवक परिचालनमा सिंह घर्ति रहेका छन । कार्यक्रममा सांस्कृतिक झाँकी प्रर्दशनका साथै चर्चित राष्ट्रिय कलाकारमा मोडल तथा लोक दोहोरी गायिका ज्योती मगर र कमल गाउँले प्रमुख आर्कषणमा रहेका छन् भने सन्दिप न्यौपाने, बिक्रम राना, पुस्कर खनाल, गोविन्द रसायली, सुनिता बुढा मगर लगाएतका अन्य राष्ट्रिय तथा स्थानिय कलाकारहरुको उपस्थिती रहने आयोजकले बताएको छ । स्थानिय कला प्रतिभाको उजागर गर्ने उद्देश्यले नृत्य प्रतियोगिता समेत आयोजना गरिएकोले सहभागीताको लागि आयोजकले विभिन्न संघ संस्था, क्लब, विद्यालय तथा समूहहरुलाई अनुरोध गरेको छ ।

जिल्लामा गोही र लोपोन्मुख धनेष चरो  पाइने एक मात्र स्थल भएपनि यो क्षेत्रको व्यापक प्रचार प्रसार नहुदा ओझेलमा परेकोले यस क्षेत्रको विकास तथा प्रचार प्रसारको लागि सरोकारवाला निकाय लगाएत विभिन्न संचार माध्यमहरु लाग्नु पर्ने  कार्यक्रम एवम् प्रचारप्रसार संयोजक तथा पाँकुरी आधारभूत विद्यालयका प्रअ गणेश बेल्बासेले बताए ।

बरादहको व्यापक प्रचारप्रसार तथा प्रर्वद्धनमा माथिल्लो निकाएको नजर पुगोस् भन्दै यस वर्षको पाँचौ माघि एवम् साँस्कृतिक मेलाको अवलोकन गर्न पूर्व उपप्रधान मन्त्रि तथा प्रतिनिधी सभाका संसद टोप बहादुर रायमाझी समेत आउनु हुने भएको छ । साथै कार्यक्रममा राष्ट्रिय सभाका संसद चन्द्र बहादुर खड्का उज्जल ,  ५ नं. प्रदेशसभाका ससंद चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरे लगाएत जिल्ला समन्वय, नगर र वडाका सबै जनप्रतिनिधिको समेत उपस्थिती रहने शितगंगा न.पा. ९ का वडा अध्यक्ष भिम बहादुर केसीले जनाए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!