नेपालमा पछिल्ला कोरोना संक्रमित मध्ये चार जना पत्रकार, एक जना स्वास्थ्यकर्मी

Posted on: 12 May, 2020

वैशाख ३०, काठमाडौँ | पर्सामा भेटिएका ३९ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ भने आजै संक्रमित भेटिएकी कपिलवस्तुकि एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण भेटिएको छ । तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । 

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये पत्रकार पनि भएको पुष्टि गरे । डा. उपाध्यायका अनुसार वैशाख २६ र २७ गते संकलित नमूनाको परीक्षण हुँदा पर्सामा थप ३९ जना कोभिड पोजेटिभ देखिएका हुन् । 

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरूले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए । सुरक्षा सामग्री समेत नलगाई क्वारेन्टाइन छिर्ने तथा अन्तर्वार्ता लिने, बोर्डरमा आएका नेपालीहरुसँग अन्तर्वार्ता लिने गरेका थिए । 

गत शनिबार वीरगन्ज महानगरपालिका– २ छपकैयाको ट्रेसिङ साइटमा वीरगन्जका ४ जना पत्रकारले थ्रोट स्वाबको नमुना दिएका थिए । 

त्यस्तै तौलिहवा अस्पतालमा कार्यरत ९ जनाको स्वाब संकलन गरिएकोमा अन्य ८ जनाको रिर्पोट नेगेटिभ देखिएको र एक जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा ति स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको अनुमान छ ।

संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन् । उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन् । संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन । तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मी त्रसित बनेका छन् ।

पर्याप्त सावधानी नअपनाउँदा कपिलवस्तुमा अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ । भारतबाट आएकाहरुमा देखिएको संक्रमण अब स्थानीयस्तरमै फैलिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!