ढलान बाटो निर्माण

Posted on: 02 Aug, 2020

साउन १८, कास्की | गण्डकी प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत कास्कीको रुपा गाउँपालिका वडा नं ६ आँपुखोलामा ३७० मिटर ढलान बाटो निर्माण गरिएको छ ।

बर्षौंदेखि सो क्षेत्रका स्थानीय हिल्लामे र धुल्लामे सडकमा हिँड्न बाध्य भएको हुँदै आएका थिए । गत आर्थिक वर्ष २०७६/७७ मा सो कार्यक्रमअन्तर्गत सोही क्षेत्रका प्रदेशसभा सदस्य दीपक कोइरालाले रु २५ लाख विनियोजन गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले बाटो निर्माणसँगै स्थानीयवासीलाई आत्मनिर्भर हुने गरी कृषि उत्पादन र पशुपालनमा लाग्न आग्रह गर्नुभयो ।  

गण्डकी प्रदेशसभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति कोइरालाले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको औचित्यलाई आँपुखोलाका जनताको कामले पुष्टि गरेको बताउनुभयो । 

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले निर्वाचनका क्रममा जनतासँग व्यक्त प्रतिबद्धतालाई आत्मसात गरी बाटो निर्माण भएको उल्लेख गर्नुभयो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यलयका प्रमुख इञ्जीनियर किरण आचार्यले आँपुखोलाका जनताले लागत अनुमान गरेकोभन्दा पनि ९० मिटर बढी बाटो बनाएर उदारणीय काम गरेको बताउनुभयो । रुपा वडा नं ६ र ५ लाई जोडने उक्त मोटरबाटो निर्माणसँगै यहाँका सर्वसाधारण लाभान्वित हुने आँपुखोला मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष बलराम थापाले बताउनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!