एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक छ: गृहमन्त्री थापा

Posted on: 14 May, 2018

वैशाख ३१ पोखरा | गृहमन्त्री रामबहादुर थापाले देशमा सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक भएको बताउनुभएको छ । 

प्रेस सेन्टर नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री थापाले देशमा यातायात, कृषि, उद्योगलगायतका धेरै क्षेत्रमा एकाधिकार मुठ्ठीमा लिएर बस्ने गरिएको बताउनुभयो । 

एकाधिकारले हाम्रो आर्थिक समृद्धि रोकेको बताउँदै उहाँले देशको विकासका लागि सबै किसिमका एकाधिकार अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । देशव्यापी रुपमा गुण्डाराज अन्त्यका लागि सरकार लाग्ने र यसका लागि सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । 

देशको पछौटेपनका कारण युवा जनशक्ति देश बाहिर रहेको र तिनलाई स्वदेश फिर्ता गर्न समृद्धि आवश्यक भएको मन्त्री थापाले बताउनुभयो । 

राष्ट्रको समृद्धिका लागि राजनीतिक स्थायित्व आवश्यक भएका कारण वामपन्थी शक्ति एक बन्न लागेको बताउँदै उहाँले शक्तिशाली कम्युनिष्ट पार्टी बनाउन पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगिसकेको बताउनुभयो । 

“पार्टी एकताका लागि वैचारिक, राजनीतिक एवं सांगठनिक आधार तयार भइसकेको छ”, उहाँले भन्नुभयो, “एकताको मिति छिट्टै घोषणा हुनेछ, एकतासँगै देश विकास र समृद्धिको बाटोमा अघि बढ्नेछ ।” 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका सम्बन्धमा पत्रकारले राखेको जिज्ञासामा मन्त्री थापाले माओवादी मन्त्रीलाई ठाउँ नदिएको भन्ने विषय निराधार भएको बताउनुभयो । भ्रमणका क्रममा राष्ट्रिय स्वाभिमान र गौरवमा आँच आउने किसिमले केही व्यक्तिले सार्वजनिक अभिव्यक्ति दिएको भन्ने कुरा आएको बताउँदै उहाँले त्यस्ता अभिव्यक्ति दिने व्यक्ति स्वयम् जिम्मेवार रहेको र त्यसमा सरकार जिम्मेवार नभएको बताउनुभयो । 

प्रहरी सेवामा रोकिएका तल्लो तहका बढुवा प्रक्रिया शुरु भइसकेको र त्यो अघि बढ्ने मन्त्री थापाको भनाइ थियो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!