पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छ: प्रधानमन्त्री

Posted on: 19 Jul, 2018

साउन ३, पोखरा | प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताउनुभएको छ । 


निर्माणाधीन विमानस्थलको धावनमार्गको आज यहाँ निरीक्षण गर्दै उहाँले निर्माणको काम सन्तोषजनक ढंगमा अघि बढिरहेको बताउनुभयो । 

सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिँदै उहाँले निर्माणको कार्यलाई समयमै सम्पन्न गर्न सरकारका तर्फबाट सम्पूर्ण सहयोग उपलब्ध गराइने वचनबद्धता प्रकट गर्नुभयो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०१९ भित्र धावनमार्ग र टर्मिनल भवनको निर्माण सम्पन्न हुने र तोकिएको समयभित्रमै बाँकी काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले निर्माण सम्पन्न भएपछि पोखराको ट्राफिक व्यवस्थापनलगायतका विषयमा चासो व्यक्त गर्नुभएको थियो । 

यसबारे कास्की जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएका पर्यटनमन्त्री अधिकारीले धावनमार्गको उत्तर र दक्षिणतर्फ चार÷चार लेनको सडक मार्ग विस्तार हुने जानकारी दिनुभयो । उहाँका अनुसार विजयपुर खोलामा अर्को पुल निर्माण गरिनुपर्छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!