वामदेव गौतमले भने- 'कास्कीमा रवीन्द्रकै परिवारलाई उम्मेदवार बनाइनुपर्छ'

Posted on: 02 Mar, 2019

फागुन १८, काठमाडौं । नेकपा नेता वामदेव गौतमले दिवंगत नेता रवीन्द्र अधिकारी निर्वाचित कास्कीस्थित निर्वाचन क्षेत्रबाट आफू उपनिर्वाचन नलड्ने प्रष्ट पारेका छन् । उनले आफूलाई नभएर अधिकारीको परिवारकै सदस्यलाई कास्की–२ बाट उम्मेदवार बनाउन पनि माग गरेका छन् ।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका रवीन्द्र अधिकारीको अन्त्यष्टिमा नेता गौतम सहभागी भएपछि कास्कीबाट उपनिर्वाचन लड्ने मनसायले उनी सहभागी भएको प्रचारमा ल्याइएको थियो । लगत्तै गौतमले  गौतमले त्यसको खण्डन गर्दै आफू उम्मेदवार नबन्ने प्रष्ट पारेका हुन् ।

गौतमले हुँदै नभएका निराधार कुरा प्रचारमा ल्याइएको भन्दै चित्त दुखाएका छन् ।


‘यो मेरो चरित्र हत्या गर्ने निकृष्ट र षड्यन्त्रमूलक विचार राखेर सुरु गरिएको कुप्रचार मात्र हो’, गौतमले शनिबार फेसबुकमा लेखेका छन्, ‘मृत्यु शोकमा पाइला टेकेर व्यक्तिगत स्वार्थ पूरा गर्ने विचारलाई मैले कहिल्यै मान्यता दिइनँ । जीवनभर दिने पनि छैन ।’

पार्टीले उम्मेदवार बनाए पनि आफू अधिकारीको निर्वाचन क्षेत्रबाट उम्मेदवार नबन्ने गौतमले प्रष्ट पारेका छन् । बरु उक्त निर्वाचन क्षेत्रमा अधिकारीकै परिवारका सदस्यलाई उम्मेदवार बनाउनु पर्ने गौतमको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!