युवा व्यवसायी सुवेदीले खोले पामेमा ‘होटल पिराज एण्ड रेस्टुरेन्ट’

Posted on: 08 Aug, 2017

पोखरा, २४ साउन  । युवा व्यवसायी राजन सुवेदीले पोखरा लेखनाथ महानगरपालिका २४ स्थित पामेमा होटल पिराज एण्ड रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । पछिल्लो समय पामे क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक बढेसँगै सुवेदीले होटलमा लगानी गरेका हुन् । होटलको बुधबार एक कार्यक्रमका बीच औपचारिक उद्घाटन हुँदैछ ।

होटलमा जग्गासहित करिब २ करोड रुपैयाँ लगानी गरिएको सुवेदीले जानकारी दिए । ‘पामे आउने पर्यटकलाई आवासीय सेवा उपलब्ध गराउने लक्ष्यसहित होटल सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘रेस्टुरेन्टमा यहाँका स्थानीय परिकारहरु खुवाउने व्यवस्था गरेका छौं ।’


रेस्टुरेन्ट ६० जना क्षमताको र होटल ३० जना क्षमताको रहको सुवेदीले जानकारी दिए । पर्यटकस्तरका ९ वटा कोठाबाट सेवा शुभारम्भ भएपनि आवश्यकता अनुसार लगानी बढाउने उनले बताए । ‘रेस्टुरेन्टमा स्थानीय माछा, कुखुरा, हाँस, खसीको मासुका परिकार खुवाइनेछ,’ उनले भने, ‘पारिवारिक वातावरणमा पर्यटकलाई स्वागत गर्नेछौं ।’

नेपाली टिपिकल ढिँडो तथा अर्डर अनुसारको खाना र खाजाको व्यवस्था गरिएको सुवेदीले जानकारी दिए । ‘पानीको सट्टा मोही खुवाउने व्यवस्था गरिएको छ,’ उनले भने । होटलमा ५ जना कर्मचारी कार्यरत छन् । फेवातालको सिरानमा रहेको पामे क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै होटल क्षेत्रमा लगानी बढेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!