पोखरा-बागलुङ सडकको सीमा ३० मिटर कायम

Posted on: 20 Nov, 2017

मङ्सिर ४, फलेवास । पोखरा–बागलुङ राजमार्गको चौडाइ फेरी ३० मिटर कायम गरिएको छ । 

निर्माणाधीन मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार गत वर्ष दोब्बर बनाइए पनि फेरि यस वर्ष संशोधन गरिएको हो । सडकको मध्य भागबाट ३०÷३० मिटर दायाँ बायाँ चौडा बनाउने मापदण्ड तोकिएकामा संशोधन गरी १५÷१५ मिटर कायम गरिएको छ । 

सडक सीमा ६० मिटर बनाउँदा सदरमुकाम कुश्माबजार, कास्कीको नयाँपुल, डिमुवा बजार, पर्वतकै मालढुंगा, पुरानोजार, अर्मादी, छमर्केलगायतका ठाउँका बासिन्दा मारमा पर्ने भएपछि जिल्ला सडक डिभिजन कार्यालयले पुरानै मापदण्ड तोकेर कुश्मा नगरपालिकालाई परिपत्र गरेको छ । 

विसं २०४७ मा उक्त सडक निर्माण गर्ने क्रममा राजपत्रमा सडकको बीचबाट १५/१५ मिटर दायाँ बायाँ भनेर सीमा तोकिएको थियो तर गत वर्ष मध्यपहाडी लोकमार्ग यही सडक हुँदै आउने भएकाले पोखराको याम्दीदेखि बागलुङसम्मको सडक ६० मिटर फराकिलो बनाउने नयाँ मापदण्ड ल्याइएपछि प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित थिए । 

आन्दोलनरत संघर्ष समितिले पटक पटक सम्बन्धित मन्त्रालयसम्म पुगेर पुरानै सीमा कायम गर्न माग गरेपछि कात्तिक २६ गते उक्त कार्यलयमार्फत पुरानै मापदण्ड (बीच सडकबाट १५÷१५ मिटर) कायम गरिएको भन्दै पत्र आएको संघर्ष समितिका अध्यक्ष मानकुमारी गिरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नयाँ मापदण्डका कारण समस्यामा परेका सडक आसपासका जग्गा धनीहरूलाई राहत मिलेको छ । विगत एक वर्षदेखि मापदण्डले जग्गाको खरिद बिक्रीलगायतका कारोबार गर्न नपाएका जग्गा धनीहरू खुशी भएको र यसै महिनादेखि पुरानै दररेटअनुसार कारोबार गर्न सकिने अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार एक्कासि लाभग्राहीसँग परामर्श नगरी तोकिएको मापदण्डका कारण कैयाँै परिवार विस्थापित भएका थिए । 

नयाँ मापदण्ड आएसँगै गत वर्ष पोखरास्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयले सूचना प्रकाशित गरी सडकको केन्द्र रेखादेखि १५–१५ मिटरको दूरीमा रहेका घरटहरालगायतका संरचना हटाएको थियो । 

पोखरा बागलुङ राजमार्ग पुष्पलाल राजमार्गको एक खण्ड हो । मुस्ताङसम्म यातायात नियमित सञ्चालन हुन थालेपछि यो राजमार्गमा पछिल्ला दिनमा सवारी साधनको चापसमेत बढ्दै गएको छ ।  रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!