मर्मतको अभावमा खानेपानी आयोजना बन्द हुने अवस्थामा

Posted on: 31 Jan, 2018

माघ १७, पोखरा | कास्कीस्थित भरतपोखरी, निर्मल पोखरी र कुस्ती नाच्नेचौरमा सञ्चालित खानेपानी आयोजनाको पाइपलाइन मर्मत नहुँदा बन्द हुने अवस्थामा पुगेको छ । 

कास्कीको छोरेपाटनदेखि कृस्ती, निर्मलपोखरी, भरतपोखरी हुँदै लामे आहाल जोड्ने सडक राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत स्तरोन्नति गर्ने क्रममा मुहानदेखि मुलटंकी र त्यहाँबाट वितरित अन्य पाइपलाइन क्षति हुँदा खानेपानी आपूर्ति बन्द हुने अवस्थामा पुगेको हो । 

भरतपोखरी कृस्ती निर्मलपोखरी सहलगानी खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता संस्थाका अध्यक्ष दाताराम आचार्यकाअनुसार जिल्ला प्राविधिक कार्यालय कास्कीबाट गरिएको प्राविधिक मूल्यांकनबाट सडक स्तरोन्नतिका क्रममा रु एक करोड पाँच लाख ४८ हजार ८३३ बराबरको खानेपानी पाइप लाइनमा क्षति हुनपुगेको छ । 

सडक स्तरोन्नतिका क्रममा सरोकारवालाबीच छलफल नै नगरी जथाभावी खन्दा पाइपलाइनमा क्षति भएको बताउँदै उहाँले क्षतिपूर्ति सम्बन्धमा विभिन्न चरणमा राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम आयोजनामा जानकारी गराइए पनि त्यसतर्फ बेवास्था गरिएको बताउनुभयो । 

न्यूनतमरुपमा खानेपानीको आपूर्ति सञ्चालनार्थ रु ३१ लाख १४ हजार ३७७ तत्काल मर्मतका लागि आवश्यक देखिएको बताउँदै उहाँले मर्मत नभएमा खानेपानी सञ्चालन पूर्णरुपमा बन्द हुने अवस्थामा रहेको उल्लेख गर्नुभयो । 

खानेपानीको आपूर्ति नै बन्द भएपछि तत्कालीन समस्याको समाधानका लागि स्थानीय जनताको आग्रहमा पोखरा लेखनाथ महानगरपालिका–२१ कार्यालयबाट रु ३८ हजार उपलब्ध गराइएको वडा अध्यक्ष खगराज आचार्यले बताउनुभयो । 

“सडकको स्तरोन्न्ति आवश्यक भए पनि उक्त क्रममा राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम आयोजनाले सरोकारवालाबीच सहकार्य गरेको देखिएन” उहाँले भन्नुभयो, “वडा सीमित एवं अन्य योजनका लागि छुट्याइएको रकम पाइपलाइन मर्मत लगायतका लागि खर्च गर्न सक्ने अवस्था छैन ।” 

क्षति भएको पाइपलाइनको मर्मत राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम आयोजनाबाट हुनुपर्ने उहाँले बताउनुभयो । खानेपानीको चरम अभाव रहेको उक्त क्षेत्रमा सञ्चालित खानेपानी आयोजनाबाट नौ हजार ७५० जना उपभोक्ता लाभान्वित भएका छन् । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!