पोखरा प्रवेशको मुख्यद्वारमा बाढीले क्षति गर्दा बिहानैदेखि यातायात अवरुद्ध

Posted on: 22 Jul, 2019

साउन ६, कास्की (रासस) | गण्डकी प्रदेशको राजधानी पोखरा प्रवेशको मुख्यद्वार पोखरा महानगरपालिका–१४ र २६ जोड्ने गरी विजयपुरमा निर्माण गरिएको डाइभर्सनमा बाढीले पुनः क्षति पुर्याएको छ । 

आइतबार रातिको बाढीले डाइर्भसनमा क्षति पुर्याउँदा आज बिहानबाट ठूला यातायातका साधन अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मुरारी मिश्रले बताउनुभयो । शनिबार राति पनि डाइर्भसन बगाएपछि आइतबार दिउँसो पुनःनिर्माण गरेर यातायातका साधन सञ्चालनमा ल्याइएको थियो । 

नदीमा राखिएका ह्युम पाइप नबगाए पनि ह्युममाथिको ग्राभेल बगाउँदा क्षति पुर्याएको र नदीमा पानीको सहत नघटेसम्म मर्मतमा कठिनाइ भएको उहाँले जानकारी दिनुभयो । विजयपुर पुल जीर्ण हुँदा १० टनमाथि भार भएका सवारीलाई डाइभर्सन बनाएर वारपार गर्ने गरिएको छ । 

पक्की पुलको आडमा निर्माणाधीन बेलीब्रिज असार मसान्तभित्रमा सञ्चालनमा ल्याइने बताइए पनि हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । 

डाइर्भसनमा क्षति पुगेसँगै १० टनमाथिका ठूला मालबाहक गाडीलाई प्रहरीले गगनगौँडामा नै रोकेर राखेको छ । विजयपुर पुल हुँदै दैनिक करीब छ हजारको सङ्ख्यामा सवारीसाधन ओहोरदोहोर गर्ने गरेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!