‘एक कृषक, एक दुहुनो गाईभैँसी’कार्यक्रम सञ्चालन हुने

Posted on: 09 Jul, 2020

असार २५, पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकाले दूधलाई दैनिक आयआर्जनको माध्यम बनाउन  ‘एक कृषक, एक दुहुनो गाईभैँसी’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसका लागि पशुपालक कृषक समूहलाई गोठ निर्माण तथा भकारो सुधार कार्यका लागि अनुदान उपलब्ध गराउने नीति लिइएको छ ।

कृषकलाई पशुपालनतर्फ आकर्षित गर्दै दुग्ध उत्पादनलाई दीगो तथा व्यवस्थित गराउन पशुधन बीमा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार बहुवर्षे भुइँ घाँस, पोषिलो हिउँदे घाँस र बहुवर्र्षे डालेघाँसका बिरुवा लगाउने जस्ता कार्यक्रम सञ्चालन गरी कृषकको दुग्ध उत्पादन लागत घटाइनेछ । दुग्ध सङ्कलन तथा चिस्यान केन्द्र स्थापना एवं विस्तार गर्ने नीति अङ्गीकार गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले व्यावसायिक पशुपालन, पशु बीमा, गोठ तथा भकारो सुधार उन्नत नश्लका गाई, भैँसी तथा बाच्छाबाच्छी तथा पाडापाडी हुर्काउने कृषकलाई प्रोत्साहन गर्ने किसिमका कार्यक्रम अघि बढाइने बताउनुभयो । दूध र मासुको उत्पादन वृद्धि गर्न पार्कोटे र लिमे जस्ता रैथाने जातका भैँसीपालन कार्यक्रमलाई प्राथमिकतामा राखिने जनाइएको छ । व्यावसायिक पशुपालनमार्फत रोजगार सिर्जना गरी युवालाई गाउँभित्रै स्वरोजगार बनाउनका लागि प्रतिस्पर्धी अनुदान उपलब्ध गराई युवालक्षित पशुपालन कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

पशुपालक कृषकमा सीप हस्तान्तरणद्वारा आधुनिक पशुपालन पद्धतिको विकास गर्दै लैजान कृषक समूह, समिति, सहकारी, गैरसहकारी संस्था र गाउँपालिकाबीच साझेदारीका साथ विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ । उहाँका अनुसार व्यावसायिक पशुपालकलाई उत्प्रेरित गर्न विभिन्न तालिम तथा प्रोत्साहनका साथ दलित, जनजाति, महिला तथा विपन्न वर्गमा विशेष प्राथमिकता दिइ पशु विकास कार्यक्रम सञ्चालन गरिनेछ । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!