ओलीको नेतृत्वमा पाँच वर्ष सरकार चल्छ : मुख्यमन्त्री गुरुङ

Posted on: 10 Mar, 2021

फागुन २६,पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ । भौगौलिकरूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको आज पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उहाँले एमालेबाहेक सरकार बन्न सक्ने चौथो र अन्तिम विकल्प रहे पनि त्यो कठिन रहेको उल्लेख गर्नुभयो ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका हिसाबले एमालेले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीसँग मिलेर सरकार बनाउने तीन विकल्प रहेको बताउँदै उहाँले कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बन्ने चौथो विकल्प कठिन रहेको बताउनुभयो । 

कांग्रेस, माओवादी र मधेशवादीसँगै जाने कुरा धेरै गाह्रो रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “सर्वोच्चको फैसलापछि मिलीजुली सरकारको नेतृत्व गर्दै समृद्धिको अभियानको नेतृत्व गर्ने हैसियत एमालेलाई प्राप्त भएको छ । मधेशमा एउटै आधार भएका कांग्रेस र मधेशवादीदलसँगै जाने र एमालेबाहेकको सरकार बनाउने कुरा ‘घाम र जून’को मिलन जतिकै कठिन छ ।” माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु नपर्ने तर्क गर्दै मुख्यमन्त्रीले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए उसका लागि दुर्भाग्य र घाटा हुने भन्दै अपरिपक्क निर्णय माओवादीले नगर्ने विश्वास व्यक्त गर्नुभयो ।

 माओवादीसँग नयाँ परिस्थितिमा छलफल गरेर अघि बढ्न आफूहरू तयार रहेको मुख्यमन्त्रीले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “शुरुमा माओवादी केन्द्रको समर्थनमा केपी ओली नेतृत्वको वर्तमान सरकार संविधानको धारा ७६ को उपधारा दुईअनुसार गठन भएको हो ।

केन्द्रमा माओवादीले समर्थन फिर्ता लिए पनि अहिले एमालेले गुमाउने केही पनि छैन । बढी घाटा उसैलाई हुन्छ, सात प्रदेशमध्ये दुई प्रदेशको मुख्यमन्त्री र अन्य प्रदेशमा सरकारबाट फिर्ता हुनुपर्दछ, त्यो उसका लागि दुर्भाग्य हो ।”

सर्वोच्चको फैसलापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट सङ्घ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि एमाले र माओवादी कुन दलका मान्ने भन्नेमा स्पष्ट नभए पनि मुख्यमन्त्री गुरुङले सूर्य चिह्नबाट चुनाव जितेको र केपी ओलीको हस्ताक्षरबाट टिकट प्राप्त गरेकाले उनीहरू एमालेकै हुने विश्वास व्यक्त गर्नुभयो । महानगर प्रमुख मानबहादुर जिसीले देशको ठूलो महानगरलाई समृद्ध बनाउने योजनानुसार कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । 

स्थापना दिवसका अवसरमा बिहान महानगरपालिका कार्यालय न्यूरोडबाट प्रभातफेरी आयोजना गरी पोखरा सभागृहमा पुुगेर स्थापना दिवस समारोहमा परिणत भएको थियो । समारोहमा महानगरमा लामो समयदेखि कार्यरत कर्मचारी, स्थापना दिवसका अवसरमा आयोजित विभिन्न खेलकूद प्रतियोगितामा विजयी भएकालाई पुरस्कार प्रदान गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!