पुराना कुवा संरक्षण गर्दै गाउँपालिका

Posted on: 02 Jan, 2019

पुस १८, पोखरा |अन्नपूर्ण गाउँपालिका कास्कीले सयौंँ वर्ष पुराना कुवा संरक्षण गर्ने भएको छ । प्राचीनकालदेखि सर्वसाधारणको खानेपानीका उपयुक्त विकल्प बनेका कुवा र तिनको महत्व समेतलाई दृष्टिगत गरी गाउँपालिकाभित्रका सयौँ वर्ष पुराना झण्डै दुई दर्जन कुवाको संरक्षण गर्न पहल थालिने गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिनुभयो । 

स्थानीयवासी समेतको सक्रियतामा कुवा संरक्षण कार्यलाई अघि बढाइने उल्लेख गर्दै उहाँले यस आर्थिक वर्षका लागि गाउँपालिकाले रु पाँच लाख बजेट छुट्याएको बताउनुभयो । अन्नपूर्ण गाउँपालिका–२ स्थित रातामाटा कुवा यहाँको झण्डै ४०० वर्ष पुरानो भएको विश्वास गरिने कार्यपालिका सदस्य भगवती भण्डारीले बताउनुभयो । 

गाउँपालिका–५ झोवाङस्थित चिसापानी कुवा, वडा नं ६ लुम्लेस्थित माझखोला कुवा, वडा नं ९ उल्लेरीस्थित उजेली कुवालगायतका झण्डै दुई दर्जन कुवा यस क्षेत्रमा बस्ती शुरु हुँदादेखि नै अस्तित्वमा आएको मानिन्छ । रासस |

यस बिषयमा तपाइको प्रतिक्रिया...!