दुई वर्षभित्र गण्डकी उज्यालो प्रदेश बनाइने

Posted on: 13 May, 2019

वैशाख ३०, तनहुँ | गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई वर्षभित्र गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाइने बताउनुभएको छ । तनहुँको घिरिङ गाउँपालिका–३ मानपुरमा आज आयोजित कार्यक्रममा उहाँले दुई वर्षभित्रमा प्रदेशका सबै घरमा बिजुली पुर्याइने बताउनुभयो ।

प्रदेशका नौ प्रतिशत घरधुरीमा बिजुली पुग्न बाँकी रहेको र नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी सबै घरमा बिजुली पुर्याउन प्रदेश सरकार लागि परेको उहाँको भनाइ थियो । उहाँले जलविद्युत्मा गण्डकी प्रदेश सबैभन्दा धनी भए पनि केही घरधुरी अझै पनि अन्धकारमा बस्न बाध्य भएको बताउनुभयो ।

भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेतले विकासको काममा अब प्रदेश अगाडि बढिसकेको बताउनुभयो । पाँच वर्षभित्र प्रदेशलाई सबैभन्दा समृद्ध प्रदेश बनाइने उहाँले उल्लेख गर्नुभयो । प्रदेशका १५ प्रतिशत घरधुरीमा खानेपानी सुविधा नपुगेको हुँदा दुई वर्षभित्रमा नै सबै घरमा खानेपानी सुविधा पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत्सम्बन्धी समस्या समाधान गर्न मुख्यमन्त्री गुरुङ समक्ष अनुरोध गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!