पोखरामा ढुङ्गा प्रहारबाट एक महिलाको मृत्यु

Posted on: 08 Jul, 2019

असार २३, पोखरा । पोखरा–१७ स्थित बिरौंटामा एक महिलाको टाउकोमा ढुङ्गा प्रहारबाट मृत्यु भएको छ । आठ वर्षदेखिसँगै बस्दै आएका ४५ वर्षीय वीरबहादुर सुनारले ढुङ्गा प्रहार गर्दा ४० वर्षीया गङ्गा सुनारको मृत्यु भएको कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी गराउनुभएको छ । 

शवको परीक्षणपश्चात मृत्युको थप कारण जानकारी हुने उहाँले थप्नुभयो । उनी दुवै जनाले मादकपदार्थ सेवन गरेपछि झगडा हुँदा सो घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । हत्याको अभियोगमा सुनारलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको बताइएको छ ।

उद्यानको स्तरोन्नति गरिने

पोखरा महानगरपालिका–५ स्थित प्रस्याङ उद्यानको स्तरोन्नति गर्न योजना अघि बढाइएको छ । ‘लायन्स चिल्ड्रेन पार्क’ को नामबाट चिनिने उक्त उद्यान २०७४ सालदेखि स्थानीय सरकारको मातहतमा आएको हो । 

उद्यान सञ्चालक समितिका संयोजक एवं वडा नं ५ का सदस्य अञ्जु केसीका अनुसार उद्यान पुनःनिर्माणका लागि शिवप्रसाद पराजुलीको अध्यक्षतामा १३ सदस्यीय निर्माण समिति गठन गरिएको छ । झण्डै नौ रोपनी क्षेत्रफलमा आकर्षक फुलबारी, शिवालय, ज्येष्ठ नागरिक दिवा सेवा, बालबालिकाका लागि आकर्षक उद्यान, कलात्मक पानीको फोहोरा, अपाङ्गमैत्री शौचालयलगायत संरचना निर्माण गरिनेछ । उद्यानको विस्तृत योजना प्रतिवेदन (डीपीआर)का लागि वन तथा वातावरण मन्त्रालयले ६० तथा पोखरा महानगरपालिकाले ४० प्रतिशत रकम उपलब्ध गराउने सम्झौताअनुरुप काम अघि बढाइएको पोखरा–५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिनुभयो । 

उद्यानको हरियाली कार्यक्रमका लागि जिल्ला वन कार्यालयले रु ३० लाख उपलब्ध गराएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु १० लाख र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले रु तीन लाख सहयोग गरेको छ । महानगरले आगामी आवको बजेटमा रु ५० लाख विनियोजन गरेको छ । व्यवस्थित उद्यान निर्माणका लागि झण्डै रु पाँच करोड लाग्ने अनुमान गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!