पोखरामा चुनावी गतिविधि बढ्यो

Posted on: 05 Nov, 2019

कात्तिक १९, पोखरा । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा चुनावी गतिविधि बढेको छ । प्रतिनिधिसभाका लागि कास्की निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि निर्वाचन हुनलागेको हो ।

चुनाव नजिकिँदै गर्दा यतिखेर यहाँका सार्वजनिक चोक तथा चिया पसलमा आगामी निर्वाचनमा कुन दलले जित्ला भन्ने विषयले चासो र चर्चा पाएको छ । निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवारका रुपमा अघि सारेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसमा उम्मेदवार कसलाई बनाउने भन्नेबारे निर्णय आइसकेको छैन ।

अन्य राजनीति दलमध्ये साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले रोमबहादुर भण्डारीलाई उम्मेदवारका रूपमा अघि सारेको छ । त्यस्तै समाजवादी पार्टीले ई धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ । निर्वाचनलाई लक्षित गरी निर्वाचन कार्यालयले आफ्नो तयारी तीव्र बनाएको कास्कीका जिल्ला निर्वाचन अधिकारी महेन्द्र सुवेदीले जानकारी दिनुभयो ।

निर्वाचन कार्यतालीका सार्वजनिक भइसकेको जानकारी गराउँदै उहाँले निर्वाचनका लागि २२ जना मतदाता शिक्षा स्वयंसेविका खटाउन लागिएको बताउनुभयो । पोखरा महानगरअन्तर्गत ११ वडा यस निर्वाचन क्षेत्रमा पर्ने भएकाले प्रत्येक वडामा दुई–दुईका दरले मतदाता स्वयंसेविका परिचालन गरिने उहाँले जानकारी दिनुभयो । 

मतदाता स्वयंसेवी छनोट प्रक्रिया बढिसकेको र उनीहरूलाई आवश्यक तालीम दिएर मङ्सिरको पहिलो साता सम्बन्धित वडामा पठाइसकिने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनकै तयारीस्वरुप सोमबार पोखरामा निर्वाचन विवाद निरुपण विषयक प्रशिक्षण सम्पन्न भएको छ । कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनका लागि ७१ हजार ८७१ मतदाता छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!