अन्नपूर्ण गाउँपालिकामा स्थलगत अनुगमन

Posted on: 06 May, 2020

वैशाख २४, कास्की | जिल्ला समन्वय समिति कास्कीले अन्नपूर्ण गाउँपालिकामा बन्दाबन्दीका क्रममा भइरहेका समस्या एवं विकास निर्माणका कामको स्थलगत अनुगमन गरेको छ ।

समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीको नेतृत्वमा गएको टोलीले गाउँपालिकाभित्र बन्दाबन्दीको समयमा भइरहेको कठिनाइका साथै सञ्चालित विकास निर्माणका कार्यक्रम अनुगमन गरेको हो । अनुगमनका क्रममा गाउँपालिकाको कार्यालयलगायत वडा नं १, २, ३, ५ र ६ वडा कार्यालयमा पुगी त्यहाँ भइरहेका कामकारवाही, बन्दाबन्दीको असर तथा कोरोना भाइरस रोकथामका प्रयासबारे जानकारी लिइएको थियो ।

सो क्रममा सम्बन्धित वडाध्यक्षहरुले बन्दाबन्दीका कारण कर्मचारी अभावमा अधिकांश कामकारवाही प्रभावित भएको बताउँदै वडामा विदेशबाट फर्केका  एवं वैदेशिक रोजगारमा रहेका व्यक्तिहरुको समेत तथ्याङ्क सङ्कलन गरिएको जानकारी दिनुभयो । 

यसैबीचमा शिक्षा तथा स्वास्थ्य, कृषिलगायत क्षेत्रको वडामार्पmत हुने कामकारवाही भने सञ्चालन भएको वडाध्यक्षहरुले जानकारी दिनुभयो । यस बीचमा वडाभित्रका बालबालिकाका लागि दादुरा र रुवेलाको खोप लगाइएको छ । बन्दाबन्दीका कारण समस्यामा परेका विपन्न तथा मजदुर वर्गका लागि राहत वितरण गर्न खाद्यान्न सङ्कलन गरिसकिए पनि हालसम्म राहत वितरण भने नभएको वडा नं ६ का वडाध्यक्ष चन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार राहत वितरणका लागि १७१ विपन्न मजदुरको नामावली सङ्कलन गरी गाउँपालिकामा पठाउनुका साथै रु ४८ हजार मूल्य बराबरको १२ मुरी कोदोसमेत खरिद गरी भण्डारण गरिएको छ । अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष जीवनाथ पौडेलले कोरोना भाइरस सङ्क्रमणको जोखिम कम गर्नका लागि बन्दाबन्दीका कारण कृषकलाई सामाजिक दूरी कायम गर्न, विदेशबाट आएकालाई होम कोरेन्टाइनमा बस्न एवं नयाँपुलस्थित बजारमा चुना छर्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो ।

अनुगमनपछि जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले बन्दाबन्दीका कारण अधिकांश सेवामूलक कार्यालयबाट सेवा प्रभाव हुन नसकेको पाइएको बताउनुभयो । सेवामूलक कार्यालयलाई सञ्चालन गर्दै नियमित कामकारवाही सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “जनतालाई अप्ठ्यारो परेको छ, यस्ता अवस्थामा स्थानीयस्तरबाट दिने कुनै पनि सेवा रोकिनु हुँदैन ।” 

जिल्ला समन्वय अधिकारी नवराज बरालले बन्दाबन्दीले समस्या निम्त्याए पनि जनतालाई दिइने सेवा प्रवाहलाई प्राथमिकताका साथ जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले पालिकाले राहत वितरणभन्दा पनि विपन्न एवं मजदुरलाई काममा लगाएर जीविकोपार्जनमा सहयोग गर्दै आएको बताउनुभयो ।

बन्दाबन्दीका कारण समस्यामा परेकालाई विकास निर्माण, चौतारा, पोखरी संरक्षण एवं सडक सरसफाइजस्ता क्रियायाकलापमा लगाएर साँझ जाँदा भुक्तानी गर्ने गरेको उहाँले बताउनुभयो । बन्दाबन्दीका क्रममा गाउँपालिकाले विकास निर्माणलगायतका कार्यका लागि रु तीन करोड  ५० लाख निकासा गरिसकिएको अध्यक्ष कुँरले जानकारी दिनुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!