अबदेखि एलपी ग्यासको खाली सिलिण्डरको मूल्य २१ सय रुपैयाँ मात्रै

Posted on: 18 Sep, 2020

असोज २, काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा एलपी ग्यासको खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ । बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि एक रुपता ल्याउन यस्तो निर्णय गरिएको संघले जनाएको छ ।

बागमती प्रदेशमा शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको सिलिन्डरसहित किन्दा ३४ सय ७५ रुपैयाँ भन्दा बढी तिर्नुपर्ने छैन।निगमले तोकेको ग्यासको प्रतिसिलिण्डर मूल्य १३ सय ७५ र सिलिण्डरको धरौटी २१ सय गरेर भरी सिलिण्डर ग्याससहित नयाँ सिलिण्डरको मूल्य निर्धारण गरिएको संघले जनाएको छ । सिलिण्डरको फ्याक्ट्री लागत १९ सय ५० रुपैयाँ, ढुवानी ५० रुपैयाँ र कर एक सय गरेर २१ सय धरौटी तोकिएको संघले जनाएको  छ । 

उद्योगले कुनै विकल्प नदिई उद्योग बन्द गरेमा वा उपभोक्ता बसाइँ सरेर अन्यत्र गएको अवस्थामा भने डिलरबाट धरौटी फिर्ता पाइने छ । तत्कालका लागि बागमती प्रदेशमा रहेका २९ वटा उद्योगका सिलिण्डरमा उक्त निर्णय कार्यान्वन्वयन हुने संघले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!