नेपाल एयरलाइन्समाथि हङकङमा चौथो पटक प्रतिबन्ध,अब १५ दिन उडान गर्न नपाउने

Posted on: 04 Dec, 2020

मंसिर १९, काठमाडौं | नेपाल एयरलाइन्सलाई हङकङले चौथो पटक उडान प्रतिबन्ध लगाएको छ | सोमबार काठमाडौँबाट हङकङका लागि उडेको एयरलाइन्समा सवार यात्रुमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि चौथोपटक एयरलाइन्सले प्रतिबन्ध खेप्नु परेको हो |

योसंगै नेपाल एयरलाइन्स अब १५ दिन  हङकङ उडान गर्न नपाउने भएको छ | यसअघि नै एयरलाइन्सले तीनपटक प्रतिबन्ध खेपिसकेको थियो | पहिलो पटक अक्टोबर ३ मा काठमाडौँबाट हङकङ उडेको नेपाल एयरलाइन्सको विमानमा ६ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएपछि हङकङले एयरलाइन्सलाई अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाएको थियो |

दोश्रोपटक ९ जना यात्रुमा पोजेटिभ देखिएपछि फेरि अक्टोबर २२ नोभेम्बर ४ सम्म प्रतिबन्ध लगाएको थियो भने,फेरी एकसाताको अन्तरालमा १४ जनामा संक्रमण पुष्टि भएपछि हङकङले नोभेम्बर १२ देखि २५ सम्म उडानमा प्रतिबन्ध लगाएको थियो |

पटक-पटक यात्रुमा कोरोना पोजेटिभ देखिन थालेपछि एयरलाइन्सले  हङकङ उडानका लागि सरकारी प्रयोगशालाबाट मात्रै गरिएको कोरोना परिक्षणको रिपोर्टलाई मान्यता दिने बताएको थियो | तर पछिल्लो पटक सरकारी प्रयोगशालाबाटै कोरोना परिक्षण गराएर नेपालमा नेगेटिभ रिपोर्ट आएका यात्रुमा समेत हङकङ पुगेपछि कोरोना देखिन थालेपछि नेपालका कोरोना प्रयोगशालाको विश्वसनियतामाथि नै प्रश्न उठेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!