सम्झौता अनुसार बक्यौता रकम पाएनन् उखु किशानले,पुनःआन्दोलनको घोषणा

Posted on: 21 Jan, 2021

माघ ८, काठमाडौँ । सम्झौता भएको २१ दिन सम्म बक्यौता रकम नपाएपछि उखु किशानले पुनः आन्दोलन गर्ने घोषणा गरेका छन् । उखु किसान संघर्ष समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बीच पुस १३ गते भएको सम्झौता अनुसार २१ दिन भित्र बाँकी बक्यौता रकम भुक्तानी गरिसक्नु पर्ने भएपनि हालसम्म भुक्तानी नगरेको भन्दै किशानले पुनःआन्दोलनको घोषणा गरेका हुन् । 

सम्झौता अनुसार सरकारले उखु किशानको बक्यौता रकम माघ ५ गते भित्र भुक्तानी गरिसक्नु पर्नेछ । माघ ५ गते भित्र उद्योग मन्त्रालयले मौखिक रुपमा गराएको जानकारी अनुसार रु ६५ करोड कबुल गरेको रकम मध्ये रु.५७ करोड भुक्तानी गराइसकेको र बाँकी रहेको रु.८ करोड रकम पनि उद्योग मन्त्रालयको नियन्त्रणमा आईसकेको जनाएपनि यसमा शंका रहेको संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

'हामी किसानहरु विश्वस्त हुन सकिरहेका छैनौ । मन्त्रालयले हामीसँग किसानहरुले के -कति रकम भुक्तानी पाउनु पर्ने सो यकिन विवरण नभएकाले उखु किसान संघर्ष समितिसँग विवरण माग गरिरहेको छ । 

सो बिबरण संघर्ष समितिले पनि पटक पटक उद्योग तथा उद्योगीहरुसंग माग गर्दा समेत उद्योग तथा उद्योगीहरुले संघर्ष समितिलाई सो विवरण उपलब्ध गराउन आनाकानी गरिरहेको छ ।' विज्ञप्तिमा भनिएको छ, 'किसानले भुक्तानी पाउनु पर्ने यकिन रकमको विवरण उद्योग र उद्योगीहरुसँगै रहेकोले सो अनुसार किसानको सम्पूर्ण रकम किसानहरुको खातामार्फत भुक्तानी गरी सकेको विश्वसनीय एवम् स- प्रमाण विवरण तत्काल सार्वजनिक नगरे सम्म हाम्रो न्यायीक सघर्षको आन्दोलन जारी रहनेछ ।'

उखु किशान संघर्ष समितिले माघ १० गते देखि फाल्गुण ७ गते सम्म किसान जागरण अभियान, ८ गते देखि १४ फाल्गुण गते सम्म कालो पट्टी बाधेर खेतमा काम गर्ने,१५ गते देखि फाल्गुण २१ गते सम्म एक छाक उपवास (भोकैबसी) खेतमा काम गर्ने र त्यसपछि पनि भुक्तानी  नभए तेस्रो चरणको आन्दोलन घोषणा गर्ने बताएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!