यामाहाका बाइक तथा स्कुटरको मूल्य बढ्यो, कुनको मूल्य कति ?

Posted on: 21 Jul, 2021

साउन ५, काठमाण्डौं। नेपालका लागी यामाहा मोटरसाइकलको आधिकारीक वितरक मोरङ अटो वक्र्स (एमएडब्लू) ले अधिकांश प्रडक्टको मूल्य बढाएको छ । 

भारतमा भएको मोटरसाइकल तथा स्कुटरको मूल्य वृद्धि पश्चात त्यसको असर नेपाली बजारमा परेको आधिकारिक वितरक एमएडब्लूले जनाएको छ । एमएडब्लुका अनुसार यामाहाको मोटरसाइकल तथा स्कुटरमा ९ हजार रुपैयाँसम्म मूल्य बढेको छ ।

साउन महिनाको सुरुवातसंगै यामाहाले एस जेट आर आरको मूल्य ९ हजार रुपैयाँले बढाएर २ लाख ४६ हजार ९०० पुर्याएको छ । यसअघि २ लाख ३७ हजार ९०० रुपैयाँमा बिक्री हुँदै आएको थियो । यसैगरी रेजेटआर १२५ स्ट्रिट र्यालि, रेजेटआर १२५ एफआई २, र फ्यासिनो १२५ को मूल्यमा पनि समान ८ हजार रुपैयाँ वृद्धि गरिएको छ ।


यससँगै अब ग्राहकले रेजेटआर १२५ स्ट्रिट र्यालि खरीदका लागि २ लाख ६९ हजार ९००, रेजेटआर १२५ एफआई २ का लागि २ लाख ५९ हजार ९०० र फ्यासिनो १२५ को खरीदका लागि २ लाख ६४ हजार ९०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।

कम्पनीका अनुसार एफजेटएस भि थ्रिको नयाँ मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ कायम गरेको छ । यसअघि यो मोटर ३ लाख २९ हजार ९०० रुपैयाँमा खरिद बिक्री हुने गरेकामा पाँच हजारले मूल्य बढाइएको हो ।  यस्तै एफजेट २५ को मूल्य पाँच हजार बढाएर ४ लाख ४७ हजार ९०० रुपैयाँ पुर्याइएको छ ।

त्यसैगरी यामाहाले आर १५ भि थ्रि को मूल्य पनि चार हजार रुपैयाँले बढेर ४ लाख ८१ हजार ९०० रुपैयाँ पुगेको छ । जुन यस अघि ४ लाख ७७ हजार ९०० रुपैयाँमा खरिद बिक्री हुने गरेको थियो ।

एफजेट एस भि टु को मूल्य चार हजार रुपैयाँले बढेर ३ लाख ०८ हजार ९०० रुपैयाँ पुगेको छ । यसअघि उक्त मोटरसाइकल ३ लाख ४ हजार ९०० मा बिक्री हुँदै आइरहेको थियो ।

नेपालका लागी यामाहा मोटरसाइकलको आधिकारीक वितरक एमएडब्लूले यामाहाका मोडलहरु एफजेड भी टु, एमटी १५, आर थ्री, फेजर २५, रेजेड आर स्ट्रीट र्याली ११३, एक्सटीजेड १२५ र एनम्याक्स १५५ स्कुटरको मूल्य यथावत नै राखेको जनाएको छ ।

दुई पांग्रै सवारी साधनहरु होन्डा, बजाज, टिभिएसका आधिकारीक वितरकहरुले अघि नै नेपालमा मूल्य बढाइसकेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!