हामीले छिटो विकास गर्न चाहेको मन्त्री भुसालको दाबी

Posted on: 24 Sep, 2021

असोज ८, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले छिटो बिकास गर्न चाहेको बताएकी छन् ।  विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच शिष्टाचार भेटवार्तामा  भुसालले छिटो बिकास गर्न चाहेको बताएकी हुन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच विश्व बैंकको लगानी रहेका विविध आयोजनाका विषयमा छलफल भएको छ। 

सो अवसरमा मन्त्री भुसालले नेपालका विकासमा बैंकले पुर्‍याउँदै आएको योगदानको कदर गर्दै आगामी दिनमा लगानी थप विस्तार हुने र समयमै परियोजना सम्पन्न भई जनताले उपभोग गर्ने अवस्थामा पुग्ने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘हामी छिटो विकास गर्न चाहन्छौं, आर्थिक स्रोतभन्दा समयको अधिक महत्व छ।’ मन्त्री भुसालले जनताको अधिकारका लागि आफूले निरन्तर संघर्ष गरेको उल्लेख गर्दै वातावरण र जनताको अधिकार एवं पहिचानाका विषयमा सधैँ सचेत रहने विश्वास दिलाइन्।

भेटमा विश्व बैंकका उपाध्यक्ष सेफरले नेपालको आर्थिक विकासमा विश्व बैंकले पुर्‍याउँदै आएको सहयोगका विषयमा जिज्ञासा राखेका थिए। नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नति गरिबी निवारणलगायत क्षेत्रमा विश्व बैंकले लगानी गर्दै आएको उल्लेख गर्दै उनले आफूहरू ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न इच्छुक रहेको बताए।

छलफलका क्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रशारण लाइन समयमै सम्पन्न नहुँदा ऊर्जा खेरजाने अवस्था आएको उल्लेख गर्दै ऊर्जा विकासका लागि आफूहरूलाई समयको चाप रहेको बताए।  

छलफलमा मन्त्रालयका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिवद्वय मधुकरप्रसाद राजभण्डारी र बाबुराम भण्डारीको सहभागिता थियो। त्यसैगरी विश्व बैंकको तर्फबाट उपाध्यक्ष सेफरसहित यातायात तथा दक्षिण एशियाको पूर्वाधार हेर्ने निर्देशक गुअङझे चेन तथा नेपाल, माल्दिभ्स र श्रीलंका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हादाद-जेर्भोसको सहभागिता थियो।    

यस बिषयमा तपाइको प्रतिक्रिया...!