३३ किलो सुनकाण्ड : गोरेसहित ६ जनालाई जन्मकैद सजाय

Posted on: 05 Oct, 2021

असोज १९ , विराटनगर। ३३ किलो सुन प्रकरणमा भरिया रहेका सनम शाक्यको हत्यामा ८ जनालाई दोषी ठहर गर्दै अदालतले ६ जनालाई जन्म कैदको सजाय सुनाएको छ । तस्करी गरिएको भनिएको परिणामअनुसारको सुन फेला नपरेको साथै मागदावी नपुगेको भन्दै सुन प्रकरणमा भने सफाइ दिइएको हो।

जन्म कैद सजाय पाउनेहरुमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । त्यस्तै राजन कुमारलाई ३ वर्ष र मदन घिमिरेलाई ६ महिना कैदको सजाय तोकिएको छ।

२०७४ साल माघमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको साढे ३३ किलो तस्करीको सुन हराएको थियो । त्यसपछि तस्करहरुको खोजी भइरहेका बेला सुन तस्करीमा भरिया तथा तस्करीको आरोप लागेका गोरे भनिने चुडामणि उप्रेतीका अकाउण्टेन्ट मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि बाहिरिएको भिडियोले सुनको ठूलो जालो सार्वजनिक भएको थियो।

यस्तै सुन तस्करी प्रकरणमा ५६ जनाले सफाइ पाएका छन्। मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजसलासले प्रमाणको अभावमा भन्दै उनीहरुलाई सफाइ दिएको हो ।

सुन तस्कारी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । जसमध्ये २१ जना भने फरार छन्। उनीहरुको मुद्दालाई भने मुलतवीमा राखिएको छ। अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन्। अन्यले सफाइ पाएका छन्। फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!