इरानमा ब्रिटिश राजदूत पक्राउ,ब्रिटेनले दियो यस्तो चेतावनी

Posted on: 12 Jan, 2020

पुस २७, एजेन्सी | इरानमा भएको विमान दुर्घटनालाइ इरानी अधिकारीहरूले "भुलवश" खसालिएको स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानका लागि ब्रिटिश राजदूत पक्राउ परेका छन् |

राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको छ | ब्रिटेनले "अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन" गरेको भन्दै चेतावनी दिएको छ | राजदुत विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा  सहभागी भएका थिए |

दूतावास फर्किन लागेका राजदूत मकेयर कपाल काट्नका लागि एउटा सलुनमा रोकिँदा पक्राउ गरिएको हो | "तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणविना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन हो।"यूकेका विदेशमन्त्री डोमिनिक राबले एक बक्तव्य जारि गर्दै भनेका छन् |

उनीमाथि सरकार विरोधी प्रदर्शनकारीहरूलाई भड्काएको आरोप लगाइएको छ | यता इरानले भने युक्रेनी यात्रुवाहक विमानमा "मानवीय त्रुटि" का कारण क्षेप्यास्त्र प्रहार गरिँदा विमान खसेको बताएका थिए |

त्यसपछि मृतकको सम्झनामा तेहरान र अन्य शहरहरूमा शनिवार मानिसहरू भेला भएका थिए |

एक सय ७६ जनाको ज्यान जाने गरी गत बुधवार भएको दुर्घटनाका लागि शुरूमा आफू जिम्मेवार नरहेको इरानले दाबी गरेको थियो | विमान दुर्घटनामा ज्यान गुमाउनेमा ८२ जना इरानका, ६३ जना क्यानडाका र ११ जना युक्रेनका नागरिक थिए |

तर शनिवार राष्ट्रपति हसन रुहानीले इरानी सेनाले "भुलवश" युक्रेनी विमानलाई क्षेप्यास्त्र प्रहारबाट खसालेको स्वीकारेका थिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!