पप्पु कन्स्ट्रक्सन कालोसूचीमा, निर्णय सदर भएमा देशभरि ठेक्का लिन नपाउने

Posted on: 19 Nov, 2018

मङ्सिर ३, काठमाडौं | नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ ।

कालोसूचीमा राख्ने निर्णय गरेको आयोजना कार्यालयले उक्त निर्णय सदरका लागि सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) मा सिफारिस गरेको छ ।

आयोजना कार्यालयले सम्झौताअनुसार काम हुन नसकेको भन्दै कात्तिक २१ गते पप्पुसँगको ठेक्का तोडेको थियो । पिपिएमओ कार्यालयले आयोजनाको मागबमोजिम कालोसूचीमा राख्ने निर्णय सदर गरेमा पप्पुले देशभरि कुनै पनि ठेक्कामा काम गर्न पाउनेछैन । सम्झौता गरी हाल काम गरिरहेका आयोजनामा भने कालोसूचीको निर्णयले कनै असर गर्ने छैन । 

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले पिपिएमओ कार्यालयले कालोसूचीमा राख्ने निर्णय सदर गर्नेबित्तिकै पप्पुसँग धरौटी र मोबिलाइजेसनबापतको रकम असुल गरिने बताए।, आजको नागरिक दैनिकमा यो खबर छ । 

पप्पुले २८ महिनाअघि राष्ट्रिय गौरवको सिक्टा सिँचाइको २३ किलोमिटर लामो डुडुवा शाखा नहर बनाउन ९८ करोड ८१ लाख रुपैयाँमा ठेक्का लिएको थियो । तर, सम्झौता अवधि सकिँदासम्म पप्पुले ७ प्रतिशत मात्र काम गरेपछि ठेक्का तोडेको आयोजना कार्यालयको भनाइ छ । पप्पुले भने आयोजना कार्यालयले समयमा डिजाइन, भुक्तानी र काम गर्ने स्थान उपलब्ध नगराउँदा काममा ढिलाइ भएको जिकिर गरेको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!