भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको लागि एयर रुट दिन भारत तयार, धावन मार्ग पनि तयार

Posted on: 22 May, 2019

जेठ ८, काठमाडौँ | भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक पर्ने एयर रुट दिन भारत तयार भइसकेको छ । दुवै देशको प्राविधिक टोलीले निर्धारण गरेको एयर रुटको उडान अनुमतिका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) मा पठाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

तीन महिनाअघि नै पठाइएकोमा आइकाओबाट स्वीकृति प्राप्त हुनेबित्तिकै उडान सञ्चालन हुन सक्ने प्राधिकरणले जनाएको छ । 

त्यसैले विमानस्थलको निर्माण सकिएलगत्तै सञ्चालनमा आउने प्राधिकरणका महानिर्देशक गौतमले जनाए । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीनजिकैको यो विमानस्थल सञ्चालनमा आएसँगै लुम्बिनीमा पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ । 

-यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

गौतम बुद्ध विमानस्थलको धावन मार्ग निर्माण सम्पन्न


भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सम्पन्न भएको छ । 

विमानस्थलको तीन किलोमिटर रनवे निर्माण सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । धावन मार्गको चार तहको कालोपत्रे सकिएसँगै अव लाइटिङ र मार्किङको काम सुरु हुनेछ । 

राष्ट्रिय गौरवका आयोजना मानिएको गौतमबुद्ध विमानस्थल सन् २०१९ भित्रै निर्माण सम्पन्न गरी उडान अवतरण सुरु गर्ने लक्ष्य राखिएको छ । निकै कठिनाइ भए पनि धावनमार्गको काम सफलतापूर्वक सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले बताए । 

यसअघि ठेकेदार कम्पनीलाई रकम भुक्तानी नहुँदा केही दिन काम रोकिएको थियो । नागरिक उड्डयन प्राधिकरणले बजेट दिएपछि रनवे निर्माणले पुनः तीव्रता पाएको थियो । 

- यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण पौडेलले लेखेका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!