नेकपा भित्र गृहमन्त्री थापाको उपस्थिति बलियो बन्दै, कति सदस्य छन् थापासँग ?

Posted on: 13 Jun, 2019

जेठ ३०, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गृहमन्त्री रामबहादुर थापाको उपस्थिति बलियो बन्दै गएको छ । एकता प्रक्रिया टुंगिन लाग्दा पार्टीभित्र थापा समूहको निर्णायक उपस्थिति देखिएको हो ।

पार्टीभित्र रहेका केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपालसहितका गुटमध्ये थापाको गुट निर्णायक बनेको छ ।

थापा समूहबाट एक सचिवालय सदस्य, दुई स्थायी कमिटी सदस्यसहित ३७ केन्द्रीय सदस्य छन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदादेखि नै थापाले आफ्नो समूहलाई बलियो बनाउँदै ल्याएका थिए । 

जनवर्गीय संगठनबीचको एकतामा पनि थापा समूहको उपस्थिति बलियो देखिएको छ भने प्रदेशमा सचिव र केही जिल्लामा अध्यक्षसमेत आफ्नो पक्षमा पार्न यो समूह सफल भएको छ । 

- यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

भीम रावलले उठाए पार्टीभित्र आचरणको प्रश्न 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवम पार्टीको सुदूरपश्चिम इञ्चार्ज भीम रावलले कम्युनिष्ट नेता कार्यकर्ताले आचरण सुधार गर्नुपर्ने बताएका छन् । नेकपाको बझाङ जिल्ला कमिटी सदस्यहरुलाई बुधबार सदरमुकाम चैनपुरमा सपथ ग्रहण गराउन यहाँ आइपुगेका उनले कतिपयले कम्युनिष्ट हुँ भने पनि उनीहरुको आचरण र व्यवहारमा त्यस्तो नदेखिएको बताए । 

“हाम्रो व्यवहार र कार्यशैलीमा सुधार ल्याउनु जरुरी छ, गरीब असहायको हितका लागि काम गर्नुपर्छ”, नेता रावलले भने । उनले पछिल्लो समयमा नेकपाका नेता कार्यकर्ताले विभिन्न योजनाको उपभोक्ता समितिमा बसेर अनुचित फाइदा लिने गरेको जनगुनासो आउने गरेको बताए । “योजना र कार्यक्रमको रकम दुरुपयोग गरे व्यक्ति र सङ्गठन कमजोर हुन्छ”, उनले भने । अहिले सङ्घीय, प्रदेश र स्थानीय तहमा कम्युनिष्टको बहुमत भएकाले सुनौलो अवसरको सदुपयोग गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा साकार गर्नुपर्नेमा उनले जोड दिए । 

एक सय ३५ सदस्यीय जिल्ला कमिटीमा पूर्व एमालेबाट ८० तथा पूर्व नेकपा माओवादी केन्द्रबाट ५५ जना सदस्य रहेका छन् । जिल्ला अध्यक्षमा पूर्व नेकपा माओवादी केन्द्रका नेता मिन कुँवरलाई चयन गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!