एकीकृत वस्ती र प्रदेश नं ३ को नामकरणबारे मुख्यमन्त्री पौडेलको ध्यानाकर्षण

Posted on: 28 May, 2018

जेठ १४ काठमाडौँ | अधिकारकर्मी तथा नेपाल भाषा आन्दोलनका अगुवा मल्ल के. सुन्दरको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज काठमाडौँ उपत्यकाभित्र एकीकृत वस्ती विकास गर्ने संभावनाबारे प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको ध्यानाकर्षण गर्यो । 

एकीकृत वस्ती पुनःनिर्माण अभियानले दुम्बः चुक, नरदेवी, कामपा वडा नं १८ मा ५४ परिवार समाहित एकीकृत वस्ती निर्माण गर्न खोजिरहेको छ । यस योजनालाई अघि बढाउन काठमाडौँ महानगरपालिका, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय उपभोक्ताबीच त्रिपक्षीय सम्झौताको तयारी भइरहेको बताइएको छ । 

अभियानका संयोजक मचाराजा महर्जनले नरदेवीमा बनाउन खोजिएको एकीकृत वस्तीको योजना र अहिलेसम्म भएका काम कारवाहीबारे मुख्यमन्त्री पौडेललाई जानकारी गराउनुभएको थियो । 

प्रत्युत्तरमा मुख्यमन्त्री पौडेलले एकीकृत वस्तीबारे विस्तृत योजना, लागतका साथै त्यसमा स्थानीय जनताको पूरापूर सहमति भए यस्तो योजनालाई परिणाममुखी बनाउन सकिने वचन दिनुभएको थियो । 

अधिकारकर्मी मल्लले ऐतिहासिक आधार एवं पुष्ट्याइँ र जनभावनाको कदर हुने गरी प्रदेश नं ३ को नामकरण गर्ने काममा मुख्यमन्त्रीको सकारात्मक पहलकदमीका लागि आग्रह गर्नुभएको थियो । मुख्यमन्त्री पौडेलले नामकरणको विषयमा प्रदेशसभाकै निर्णय सर्वोपरी हुने भएकाले उसैको जिम्मामा छाड्नु पर्ने धारणा व्यक्त गर्नुभएको थियो । 

प्रतिनिधिमण्डलमा प्रदेश नं ३ का सांसद वसन्त मानन्धर र नेवाः जागरण मञ्चका संयोजक सुजीव बज्राचार्य पनि हुनुहुन्थ्यो ।रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!