रुपान्तरित माओवादी केन्द्रको नीति- सिमानामा काडेतार, बलात्कारीलाई मृत्युदण्ड (पूर्ण पाठ)

Posted on: 13 Jun, 2018

जेठ ३०, काठमाडौं । रुपान्तरण सहितको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेको छ । प्रचण्ड नेतृत्वले माओवादी केन्द्र छाडेपछि त्यसैलाई निरन्तरता दिने भन्दै अध्यक्ष गोपाल किराँती सहित माओवादी केन्द्रको ५ पदाधिकारी सहितको प्रारम्भिक केन्द्रीय समिति समेत निर्माण भएको छ । 

माओवादी केन्द्रको बरियतामा अध्यक्षमा गोपाल किराती छन् भने क्रमश उपाध्यक्ष भविश्वर पराजुली, उपाध्यक्ष तीलक थापा मगर, महासचिव कर्णजीत बुढाथोकी ‘सुशील’ र सचिवमा राजन तिम्सिना रहेका छन् । 

केन्द्रले मंगलबार राजधानीको कमलादीस्थित् प्रज्ञा भवनमा बसेको बैठकको जानकारी दिन बुधबार पत्रकार समेल्लन गर्दै प्रचण्डले पार्टी छाडेर तात्कालिन एमालेमा प्रवेश गरेको भन्दै पार्टीलाई निरन्तरता दिने निर्णय लिएको जनाएको छ । अध्यक्ष किराँतीले प्रचण्डले पार्टी परित्याग गरेको आरोप लगाउँदै आफूहरु अब रुपान्तरण सहितको नेकपा माओवादी केन्द्रको निर्माणमा लागि परिरहेको बताएका हुन् ।

उनले भने,‘प्रचण्डले जनयुद्धको कार्यदिशा र जनयुद्धका मुद्दाहरु छोडेर तात्कालिन एमालेमा प्रवेश गर्नुभयो, उहाँले जनयुद्धको धावनमार्ग भत्काउनुभयो, हामी त्यसलाई पुननिर्माण गर्नेमा जुटेका छौं, आगामी कार्तिकमा राष्ट्रिय भेला बाोलाउने र फागुन १ गते जनयुद्ध दिवसको दिन पार्टीको महाधिवेशन गर्ने लक्ष्यकासाथ अघि बढेका छौं ।’

किरातीले प्रचण्डलाई संभ्रान्त वर्गमा बद्लीएको आरोप लगाउँदै प्रचण्डका केही कार्यकर्ताहरु उनको पछि लागेको बताए । उनले भने,‘प्रचण्ड र बाबुराम अन्तीममा आएर पुँजीवादी गणतन्त्र तिर लाग्नु भयो, हामी सर्वहारा वर्गको पक्षमा छौं ।’ अध्यक्ष किरातीले भारतको तर्फबाट सिमानामा ज्यादती भएको भन्दै सिमानामा पर्खाल लगाउने र बलात्कारीलाई मृत्युदण्डसम्मको सजाय दिने नीति सहित आफ्नो पार्टी अगाडी बढेको बताए । त्यस्तै पार्टीको अध्यक्षले प्रधानमन्त्री तथा मन्त्री पदमा बस्न नपाउने नीति पनि आफ्नो पार्टीले लिएको जानकारी दिए । 

तल हेर्नुहोस् - नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रद्धारा जारी प्रेस विज्ञप्तीको पूर्णपाठ

प्रेस विज्ञप्ति

पत्रकार साथीहरु

महान जनयुद्धद्वारा स्थापित माओवादी कम्युनिष्ट आन्दोलनको विचार, भावना र इतिहासको एकीकृत निरन्तरता स्वरुप नेकपा माओवादी केन्द्र, महाधिवेशन आयोजक समितिका उपलब्ध सदस्यहरुको बैठक बसी निम्न निर्णय गरियो । खासगरी श्री पुष्पकमल दाहाल (प्रचण्ड) लगायतले पार्टी परित्याग गरी गएको स्थितिले रुपान्तरण सहितको नेकपा माओवादी केन्द्रको निरन्तरता ऐतहासिक एवं वस्तसगत आवश्यकताको आधारमा बैठक बस्नु परेको स्पष्ट गर्दछौं ।

राष्ट्रियता, जनवाद र जनजिविकाबारे

१. भूमण्डलीकृत वित्तीय एकाधिकार पूँजीवाद र भारतीय विस्तारवाद विरुद्ध राष्ट्रिय प्रतिरोध क्रान्तिको तयारी गर्न आम जनसमुदायमा अभियान सञ्चालन गर्ने ।

२. भारतीय प्रधानमन्त्रीको भ्रमणको बहानामा नेपाली सुरक्षाकर्मीको अपमान गर्दै नेपाललाई भारतीय फौजको खेल मैदान बनाउने राष्ट्रिय अपराध गरेकोमा संसदवादी नेकपाको सरकारले सार्वजनिक माफी माग्नु पर्छ ।

३. प्रवेशाज्ञाको व्यवस्था अघि एक स्थानीय तहमा एक भन्सार नाका खुला गरी नेपाल–भारत सीमानामा अग्लो पर्खाल वा काँडेतारको व्यवस्था गर्नुपर्छ ।

४. विप्लव नेकपा विरुद्धका मुद्दाहरु सरकारले खारेज गर्नुपर्छ र विप्लल नेकपा वार्तामा आउनु पर्छ । विप्लव नेकपा नेताहरुलाई अनावश्यक धरपकड बन्द गर्नुपर्छ ।

५. प्रदेशहरुको नामाकरण गर्दा ऐतिहासक एवं सामुदायिक पहिचानको आधारमा गर्नुपर्छ ।

६. विनाशकारी भूकम्प गएको चौथो वर्ष लाग्दा समेत पीडितहरुले राहत पाएका छैनन् । समृद्धिको नारा दिने सरकारले प्रत्येक भूकम्प पीडीत परिवारलाई ५ लाख रुपैया राहत दिनु पर्छ ।

७. चरम महंगी विरुद्ध राष्ट्रिय संकटकाल घोषणा गरी श्रमिक तथा गरिब जनतालाई विशेष राहत उपलब्ध गराइयोस् ।

८. किसानलाई विना भन्सार कृषि औजार खरिदको व्यवस्था गरियोस् । मल विउ, औषधी सहुलियत दरमा उपलब्ध गराइयोस् । ६० वर्ष पुगेका किसान र लगातार २० वर्ष व्यवासयिक खेती गर्ने किसानलाई मासिक ५ हजार पेन्सन व्यवस्था गरियोस् ।

९. सीमाना रक्षा तथा भ्रष्ट्राचार र महंगी विरुद्ध अभियान सञ्चालन गर्ने ।

१०. तुरुन्त कानून बनाई शिक्षा, स्वास्थ्य, रोजगारी, आवास तथा खाद्य सम्प्रभुताको संवैधानिक मौलिक अधिकार लागू गर्न संसद एवं सरकारलाई दवाव दिने ।

११. गणतन्त्र स्थापनामा ऐतिहासिक योगदान गर्ने शहिद परिवार तथा पूर्व जनसेनाका कमरेडहरु प्रत्येकलाई १० हजार गणतन्त्र भत्ता उपलब्ध गराइयोस् ।

राजनीतिक तथा संगठनबारे

१) बैठकका अध्यक्ष क. गोपाल किरातीद्वारा प्रस्तुत नेपाली क्रान्तिको कार्यक्रम शीर्षक प्रतिवेदन छदलफल र थपघट सहित पारित गरियो । प्रतिवेदनको सारांशः

क) माक्र्सवाद–लेनिनवाद–माओवादको रक्षा, प्रयोग र विकासमा जोड दिने ।

ख) पार्टी एकताको १३ बुँदे पत्रका आधारमा खोज अनुसन्धानद्वारा आगामी महाधिवेशनबाट समाजवादी क्रान्तिको राजनीतिक कार्यनीति संश्लेषण गर्ने ।

ग) वर्ग संघर्ष र बल प्रयोगको सिद्धान्त आधारित सशस्त्र विद्रोह र गणतन्त्र रक्षार्थ विद्यमान संवैधानिक व्यवस्थाको निर्वाचन उपभोगबीच समायोजनको फौजी कार्यदिशा अवलम्बन गर्ने ।

घ) सर्वहारा वर्गको अग्रदस्ता सुढुदीकरणको लागि पार्टी प्रमुख सहितको एक टोली सत्ता÷सरकारमा जानु हुँदैन । जानु पर्ने स्थिति उत्पन्न भएमा पार्टी प्रमुखबाट राजिनामा दिएर जानु पर्दछ ।

ङ) क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माणको बृहत अभियान संचालन गर्ने ।

च) पूँजीवादी गणतन्त्र स्थापनासम्म क्रान्तिकारी भूमिका खेलेका श्री प्रचण्डहरु त्यसपछि भने प्रतिक्रान्तिकारी कित्तामा पलायन भएको ठहर गरियो ।

२) विचार, भावना र इतिहासको निरन्तरताका लागि संसदवादी नेकपाबाट विद्रोह गरी नेकपा माअ‍ोवादी केन्द्रमा जुट्ने क्रम उत्साहजनक छ । यसलाई अझ ब्यापक र सशसक्त तुल्याउँदै रुपान्तरण सहितको सगठन विस्तार र सुदृढीकरणमा डट्ने तीन अभियानको कार्ययोजना निर्माण गरियो ।

३) महाधिवेशन आयोजक समितिको केन्द्रमा बहुपदीय प्रणालीलाई नै निरन्तरता दिइएको छ । जस अनुसार निम्न पदाधिकारी रहेको कार्यालय गठन गरियो ।

क) अध्यक्ष क. गोपाल किराती ‘साइला’

ख) उपाध्यक्ष क. भविश्वर पराजुली

ग) उपाध्यक्ष क तीलक थापा मगर

घ) महासचिव क. कर्णजीत बुढाथोकी ‘सुशील’

ङ) सचिव क. राजन तिम्सिना

४) प्रेश ३ केन्द्रीय कार्यालय हेर्नेछ भने प्रदेश १ क. तिलक थापा, प्रदेश २ क. राजन तिम्सिना प्रदेश ४ र ५ को भविष्श्वर पराजुली तथा प्रदेश ६ ७ क. कर्णजीत बुढाथोकीले इन्चार्जसीप गर्ने ।

५) अरु कार्य विभाजन विभिन्न समूहबाट धु्रवीकरणमा आउने कमरेडहरुको सन्तुलन हुने गरी ब्यापक गृहकार्यद्वारा कार्यालयले निर्णय र परिपत्र गर्नेछ ।

अन्त्यमा पत्रकार साथीहरु मार्फत आम जनसमुदायलाई आह्वान गर्दछौं कि नेकपा माअ‍ोवादी केन्द्रलाई सहयोग गर्नुहोस्, माओको निधनपछिको अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र प्रचण्डहरुको पलायनपछि नेपाली कम्युनिष्ट आन्दोलनले उठाएका अहम प्रश्नहरुको जवाफ हामी खोजि निकाल्ने प्रतिज्ञा गर्दछौं ।

गोपाल किराती

अध्यक्ष

नेकपा माओवादी केन्द्र 

यस बिषयमा तपाइको प्रतिक्रिया...!