प्रदेश ३ को स्थायी राजधानीका विषयमा अर्मूत प्रतिवेदन बुझाइयो

Posted on: 17 Jul, 2018

साउन १, मकवानपुर | प्रदेश ३ को स्थायी राजधानीका विषयमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले अर्मूत प्रतिवेदन बुझाएको छ । प्रदेश ३ का पाँच जिल्लाले आफ्नो जिल्लामा स्थायी राजधानी हुनुपर्ने माग गर्दै संसदमा प्रस्ताव दर्ता गरेका थिए । 

स्थायी राजधानीका विषयमा विवाद भएपछि प्रदेशसभाले गत १४ वैशाखमा १३ सदस्यीय राजधानी सम्भाव्यता अध्ययन विशेष समिति गठन गरेको थियो । तर, समितिले पनि विवादमा पर्ने डरले अर्मूत प्रतिवेदन बुझाएको छ । प्रदेश सभाले सांसद दीपक निरौलाको सभापतित्वमा १३ सदस्यीय राजधानी सम्भाव्यता अध्ययन विशेष समिति बनाएको थियो । 

समितिले ६० दिन लगाई स्थायी राजधानीका विषयमा १३ जिल्लाको विस्तृत अध्ययन गरेको थियो । अध्ययन गर्दा काठमाडौं संघीय राजधानी भएकाले १२ जिल्लालाई अध्ययनको विषय बनाएको निरौलाले बताए । अध्ययनका लागि तोकिएका १२ जिल्लालाई १ सय १ प्रश्न सोधिएकोमा ८ जिल्लाले मात्रै उत्तर पठाए । यसरी प्रश्नको उत्तर पठाउने जिल्लामा मकवानपुर, काभ्रे, चितवन, भक्तपुर, नुवाकोट, ललितपुर, रसुवा, सिन्धुपाल्चोक मात्रै थिए । यसरी अध्ययन गर्दा सिन्धुपाल्चोक, ललितपुर र रसुवा भौगोलिक, भौतिक संरचनाका हिसाबले नमिल्ने भएपछि ५ जिल्ला मात्र समितिले सिफारिस गरेको हो । जसमा समितिले काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई सम्भावित राजधानी बनाउन सकिने प्रतिवेदन बुझाएको छ । 

समितिले गत २६ असारमा ५ जिल्लालाई सम्भावित राजधानी बनाउन सकिने भन्दै प्रतिवेदन बुझाएको हो । समितिले प्रदेश सभा संसादले जहाँ–जहाँ राजधानी मागेका थिए, सोही ठाउँलाई सम्भावित स्थायी राजधानी बनाउन सकिने भन्दै प्रतिवेदन बुझाएको छ । ‘हाम्रो काम सम्भाव्यता अध्ययन मात्रै हो’प्रतिवेदन लेखन कार्यदलका संयोजक विशाल खड्काले राजधानी तोक्ने विषय राजनीतिक विषय भएकाले समितिले तोक्न नमिल्ने बताए । यस्ता विषय सकेसम्म सहमति नभए प्रदेश सभाका दुईतिहाइ सांसदले निर्णय गर्ने उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!