पर्वतका निष्ठुरी ६ माननीय, भोट माग्न घरघरमा पुगे, विपदमा मलम लगाउन सकेनन्

Posted on: 22 Jul, 2018

महेन्द्र केसी पर्वत । “चरी लैजा समाचार, हामी भयौ बेघरबार” संगित श्रोताको लय शब्द र अन्जनबाबु शर्माको स्वरमा रहेको यो गीत सदबहार गीत हो । हरेक बर्ष देशमा हुने प्राकृतिक विपदसँगै यो गीतले देशभरका रेडियोहरुमा गुन्जिन पुग्छन् । प्राकृतिक प्रकोपसँग जोडिएको यो गीतले विपदमा परेका नागरिकहरुको दुख पीडालाई बोलिरहेको देखिन्छ । 

साउनको पहिलो दिन (२०७५ साउन १ गते) अविरल बर्षाका कारण जलजला गाउँपालिकामा बाढी र पहिरोका कारण ठूलो मात्रमा जनधनको क्षती भयो । पहिरोबाट जलजला ८ का मात्रै २२ घर बिस्थापित भएका छन । पहिरोमा परेर स्थानिय सुकुम्बासी बस्तीका ९ घर पुर्ण क्षति भएका छन भने १४ घर आँशिक क्षति भएकाले जोखिममा छन ।

एक जनाको ज्यान समेत लिएको त्यो दिन जलजलाबासीको आँखामा यतिबेला आशु बनी बगिरहेको छ । जब बर्षा शुरु हुन्छ तब फेरी पनि बाढी, पहिरोले घरबासनै लैजाने हो कि भन्ने पिरमा छन् स्थानीय बासी ।

पर्वत जिल्ला क्षेत्रफलका हिसाबले अतिनै सानो जिल्ला हो । जति छानो जिल्ला भएपनि भौगोलिक हिसाबले त्यतिनै कठिन र बर्षासँगै खतराको घण्टी बजाइरहने जिल्ला पनि हो ।

बाढी पहिरोका कारण सडकखण्ड हिलाम्य र जोखिमपूर्ण त हुनेगर्छन् त कतिपय ठाउँमा बस्तीनै जोखिमा समेत रहेका छन् । भूकम्प (२०७२ बैशाख १२) ले जमिनलाई चलाएमान गराइदिएको छ जसले गर्दा पनि पहाडी जिल्ला पहिरो, बाढीको उच्च जोखिममा छ ।

मालढुंगामा रहेको सुकुम्बासी बस्ती विगतदेखिनै जोखिमा छ तर त्यहाँको बस्ती स्तान्तरण हुन सकेको छैन । कुनै पनि बेला त्यहाँ अप्रिय घटना घट्नसक्ने सम्भावना छ । कालीगण्डकीको कटानसँगै बाढीको जोखिम पनि उत्तिकै छ । देशभर बाढी, पहिरो, डुबानका कारण जनधनको क्षतीको घटनाको विवरणहरु आइरहेका छन् । हरेक बर्ष यस्ता घटनाहरुको विवरण र तथ्याङ्क राज्यले संकलन गरिरहेको छ तर त्यसलाइ न्यूनिकरण गर्नको लागि भने खासै पहल भएको देखिदैन ।

राहत, उद्दारको लागि समेत खासै राम्रो व्यवस्था भएको देखिदैन । जब विपद पर्छ तब राज्यले अनेक उपाय र योजना ल्याउँछ, बर्षायाम विस्तारै ढल्दै जान्छ तब ति योजनाहरु पनि विस्तारै पन्छिदै जान्छन् । यसले गर्दा पनि देशले हरेक बर्ष प्राकृतिक विपदबाट ठूलोमात्रमा जनधनको क्षती व्यहोरिरहेको छ । 

भौगालिक हिसाबले सानो जिल्ला पर्वत भएपनि राजनीतिक हिसाबले ठूलो फड्को मारेको छ पर्वत जिल्लाले । संघीयता कायम भएसँगै पर्वत जिल्लाले मात्रै ७ जनासांसद प्राप्त गरेको छ । दुइ निर्वाचन क्षेत्र कायम भएको पर्वतले राष्ट्रियसभाको प्रमुखका रुपमा गणेशप्रसाद तिमिल्सिना पाएको छ । त्यस्तै प्रनिधिसभामा पदम गिरी र लालकाजी गुरुङ प्रत्यक्ष र समानुपातिकतर्फबाट सांसद पाएको छ । 

प्रदेशस्तरतर्फ गण्डकी प्रदेशमा समेत पर्वतले सभामुखमा नेत्रनाथ अधिकारी, बन तथा बातबरणमन्त्रीमा विकास लम्साल पाएको छ । त्यस्तै जुनादेवि नेपाली र ललितकला गुरुङ सासद पनि पाएको छ ।

चुनावको बेलामा तीन पटकसम्म भोट माग्न बस्तीबस्तीमा पुग्न हतार गर्ने मान्यवर यो दुखद घडीमा एक पटक पनि फर्केर हेर्न सक्ने क्षमता राख्न सकेका छैनन ।

केन्द्रदेखि प्रदेशसम्म सानो जिल्ला भएर पनि आधा दर्जन सांसद पाएको जिल्लामा विपद पर्दा सांसदहरु एक पटक फर्केर आउने चेष्टा गर्न सकेका छैनन । जलजलाबासीको गुहार, पीडाको गुन्जयमान ती  शब्दहरु सुन्न सक्ने हिम्मत हाम्रा यी नेताहरुमा देखिएको छैन । 

गणेश तिमिल्सिना, राष्ट्रियसभा अध्यक्ष 

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले घटनाबारे जानकारी पाउँदासाथ एक विज्ञप्ती जारी गरे । उनले उक्त विज्ञप्तीमार्फत उक्त घटनाप्रति दुख, घाइतेको शिघ्रस्वाथ्यको लाभको कामना गरे । तर त्यहाँको बस्तुस्थीति, एक जिम्मेवार नेताको हिसाबले स्थलगत अबलोकन गर्न र पीडितलाइ प्रत्यक्ष भेटघाट गरी सहानुभूति भने देखाउन सकेका छैनन । जिल्लाको जोखिमपूर्ण क्षेत्रको पहिचान गरी बस्ती स्थान्तरणको लागि पनि केहि पहल गर्न सकेका छैन । राज्यको उच्च पदमा पुगेपनि जिल्लाको यो पीडामा मलम लगाउनको लागि सरकारको ध्यानाकर्षण गरी तत्काल पीडितलाई राहत र सम्भावित घटना र जोखिमपूर्ण क्षेत्रको पहिचान र त्यहाँको बस्ती स्थानन्तरणको लागि भूमिका निर्वाह गर्न सकेका छैनन ।

पदम गिरी, प्रतिनिधिसभा सदस्य 


झण्डै १८ बर्षपछि युवा पुस्ताको जोश र जाँगर सँगै जिल्लाको विकास र सहाराका रुपमा विजयी भएर प्रतिनिधिसभामा पुगेका सांसद पदम गिरी चर्को आलोचना र सहारापाटीको खबरदारीपछि मात्रै गृहजिल्ला प्रवेश गरे । घटनाको बारेमा बुझ्न स्थलगत अबलोकनमा पुगे । विभिन्न प्रतिबद्धता व्यक्त गरेर फर्किए । तर उनले जिल्लाको समग्र सम्भावित जोखिमको अबस्था न्यूनिकरणको लागि भने खासै चाँसो देखाएको देखिएन । जिल्लाको जनप्रतिनिधिको हैसियतले उनले जून भूमिका निर्वाह गर्न आवश्यक थियो त्यो उनीबाट हुन सकेको छैन । 

लालकाजी गुरुङ, प्रतिनिधिसभा सदस्य 

समानुपातिक नेका पर्वतबाट सिंहदरबार पुगेका लालकाजी गुरुङ गुमनाम नेताजस्तै बनेका छन् । जिल्लाको बस्तुस्थीतिको बारेमा अनविज्ञनै बनेर बसेको देखिन्छ । सांसद भएदेखि जिल्लामा कमैमात्र आएका गूरुङ जिल्लाको विपद व्यवस्थापनको लागि खासै चाँसो देखाएको देखिदैन । पार्टीलाइ सहयोग गरेको समानुपातिकमा परेको भन्ने एउटा घटनाजस्तै भएको देखिन्छ । समानुपातिकबाट संसदभवनमा पुगेका उनी आफ्नो कुनै पनि जिम्मेवारी नभएजस्तो गुमानाम सांसद बनेर बसेका छन् । 

नेत्रनाथ अधिकारी, सभामुख गण्डकी प्रदेश


समाजबादको लागि र नागरिकको अधिकारको लागि लड्ने चुनावी नारा र विजयी भएपछि पनि सोही नारा लिएर हिडेका सभामुख नेत्रनाथ अधिकारी जिल्लामा विपद पर्दा एक विज्ञप्ती मार्फत सहानुभूति पनि देखाउन सकेका छैन । सायन उनी पनि महिनादिन देखि विरामी भएको र बेडमै रहेको भएर पनि हुनसक्छ । तर पनि एक जनप्रतिनिधिको हैसियतले जिल्लामा यत्रो दुखद घटना घट्दा आफू आउन नसकेपनि आफ्ना कर्मचारीहरुलाइ परिचालन गरी बस्तुस्थीतिको बारेमा जानकारी लिन सक्नुपर्दथ्यो त्यो भने हुन सकेको छैन । 

विकास लम्साल, मन्त्री, बन तथा बातवरण, गण्डकी प्रदेश

वन तथा वातवरण मन्त्री विकास लम्सालले पनि जिल्लाको बारेमा केहि बोध गरेको जस्तो देखिएको छैन । वन तथा वातवरण सम्बन्धी मन्त्री आफै भएपनि जिल्लाको भौगालिक अबस्था, जोखिम अबस्थाको बारेमा प्रतिवेदन तयारी गरी जिल्लामा रहेका जोखिपूर्ण बस्तीलाइ स्थान्तरण गर्नको लागि केहि पहलगर्न सकेको देखिदैन । उनले पनि जलजलाको विपदबारे कहि बोल्न खोजेका छैन । सायद उनी क्षेत्र २ बा निर्वाचित सांसद भएर क्षेत्र १ को बारेमा चाँसो नदिएका पो हुन कि भन्ने आम नागरिकमा भान हुन थालेको छ ।

जुनादेवि नेपाली, सांसद, गण्डकी प्रदेश 


सांसद जुनादेवि नेपाली पनि जलजला गाउँपालिकामा भएको विपदको बारेमा केहि बोल्न सकेकी छैनन। त्यस्तै अन्य क्षेत्रमा हुने सम्भावित जोखिमको बारेमा समेत केहि योजना र कार्यदिशाको खाका तयार पार्न र त्यसको बारेमा प्रदेश सरकारसँग माग उठाउनसक्ने सामथ्र्य पनि राखेको पाइदैन । जनताको दुखसुखमा मलम लगाउनको लागि उनी पनि निष्ठुरी बनेको देखिन्छ । 

ललितकला गुरुङ सांसद, गण्डकी प्रदेश 

सांसद ललितकला गुरुङ पनि जिल्लाको विपद व्यवस्थानको बारेमा केहि बोल्ने प्रयासमा नभएको देखिन्छ । जिल्लाका कुनकुन ठाउँहरुमा जोखिपूर्ण अबस्थामा रहेका छन् त्यसको बारेमा खोज र त्यस्ता सम्भावित जोखिमपूर्ण क्षेत्रका बस्तीहरु स्थानतरणको लागि पहल गर्न नसकेको देखिन्छ । 

छ जना सांसद पाएको पर्वत जिल्लाले विपद पर्दा एक जना समेत सांसदको सहानुभूति पाउन सकेको छैन । केहि आलोचना खेप्न नसकेर आएपनि अन्य भने गुमनाम जस्तै देखिन्छन् । पाँच बर्षको लागि सांसदको जागिर पाक्यो त्यसपछिको समय देखा जायगा भन्ने सोचको भावमा डुबेकका हुन कि भन्ने पनि महसुुस भएको छ । 

जलजलाको घटना एक उदाहरण मात्रै हो । यस्तै अन्य क्षेत्रमा पनि घटना घट्न सक्ने अबस्था जिल्लाभरी नै छ । कुनबेला हुने हो भन्ने डर क्रासमा अझै पनि नागरिकहरु बाँचिरहेका ठाउँहरु पनि छन् । राज्यको माथिल्लो निकायसम्म पुगेका जिल्लाका सांसदहरुले बेलैमा जिल्लाको भौगोलिक जोखिमपूर्ण क्षेत्रको अध्ययन र अबलोकन गरी त्यस्ता क्षेत्रमा रहेका बस्तीहरुको स्थानतरण गर्नको लागि बेलैमा सोच्नुपर्ने देखिन्छ । अन्यथा जलजलामा भएको भन्दा ठूलो घटना अन्य क्षेत्रमा नहोला भन्न सकिने अबस्था छैन । चरी लैजा समाचार, हामी भयौ बेघरबार भन्ने दिन जलजलबासीको मात्रै होइन अन्य पर्वत जिल्लाबासीको पनि नहोला भन्न सकिदैन । त्यसैले बेलैमा सोचौ ।

निष्ठूरी सांसद लालकाजी गुरुङ पर्वतमा यत्रो विपद पर्दा समेत फर्केर हेरेनन्

पर्वत । नेपाली काँग्रेसबाट समानुपातिक तर्फ प्रतिनिधिसभामा सांसद बनेका लालकाजी गुरुङ पर्वतमा यत्रो विनासकारी बाढि पहिरोले नागरिकको विचल्ली हुदाँ  समेत फर्केर हेरेका छैनन् । 

साउने संक्रान्ति अर्थात् साउन १ गते राति  परेको अविरल बर्षाका कारण जलजला गाउँपालिका ७ र ८ मा आएको पहिरोका कारण ठूलो मात्रमा जनधनको क्षती हुदाँ समेत एक पटक फर्केर आएका छैनन् । 

निरन्तर सहारापाटीले खबरदारी गरेपछि प्रत्यक्ष तर्फका नेकपाका सांसद पदम गिरी हिजो(साउन ४) मा मात्रै घटनास्थलमै पुगेर पीडित परिवारसँग भेट गरेका छन् । उनले सो क्रममा २० हजार आफ्नो सन्तान गुमाएका बिकास परियारका बाबु बमबहादुर परियारलाई नगद २० हजार रुपैया  र आश्वासन बाँडेर फर्किए तर सांसद लालकाजी गुरुङ भने अझै घटनास्थलको अबस्थाको बारेमा बेखर र गुमनाम बनेर बसेका छन् ।

सायद पार्टीलाइ सहयोग गरेको समानुपातिकमा परेको भनेर पनि हुन सक्छ उनी जिल्लामा यति ठूलो विपद पर्दा समेत फर्केर हेरेका छैनन र यस विषयमा केहि पनि बोलका पनि छैनन् । बरु पूर्व सांसद अर्जुन जोशी भने घटना भएदेखिनै निरन्तररुपमानै पीडित परिवारसँग सम्पर्क बढाइरहेका छन् । 

पहिरोबाट जलजला ८ का मात्रै २२ घर बिस्थापित भएका छन । पहिरोमा परेर स्थानिय सुकुम्बासी बस्तीका ९ घर पुर्ण क्षति भएका छन भने १४ घर आँशिक क्षति भएकाले जोखिममा छन ।

फलो अप– चार दिनपछि घटनास्थल पुगे सांसद पदम गिरी, २० हजार राहत हस्तान्तरण

पर्वत । स्थलगत अबलोकनका लागि प्रतिनिधिसभा सांसाद पदम गिरी जलजला गाउँपालिका पुगेका छन् । बाढि पहिरोका कारण जलजला ७ र ८ मा विस्थापित भएकाहरुको अबस्था बुझ्नको लागि सांसद गिरी चार दिन पछि मात्रै घटनास्थल तर्फ पुगेका हुन् ।

सहारापाटी डट कमले जिल्लामा बाढि पहिरो कारण ठूलो मात्रमा जनधनको क्षती हुदाँ समेत सांसद पदम गिरीले कुनै पनि चाँसो नदेखाएको समाचार प्रकाशन गरेपछि उनी घटना घटेको तीन दिनपछि घाइतेहरुलाई भेट्न पोखरा अस्पतालमा पुगेका थिए । 

त्यस लगत्तै चार दिनपछि मात्रै उनी स्थलगत अबलोकनका लागि जलजला गाउँपालिकामा पुगेका हुन् । 

पूर्व सांसद अर्जुनप्रसाद जोशी घटनास्थलमा घटना भएकै दिनदेखि खटिएको र राहत संकलन र वितरणमा समेत सक्रियता देखाएको तर बर्तमान सांसद पदम गिरी पर्वतमै नदेखिएको भन्दै सामाजिक संजालमा चर्को आलोचना र विरोध समेत भएको थियो । 

सहारापाटीको खबरदारी, सामाजिक संजालमा चर्को आलोचना भएपछि मात्रै उनी चार दिनपछि घटनास्थलमा पुगेका हुन् ।

जलजला गाउँपालिकाका पहिरो पीडितसँग उनले भेट गरेका छन् । सबै पिडीतहरुलाई पुर्नस्थापना र राहतका लागि सरोकारवाला र सरकारबाट थप पहल गर्ने आश्वासन दिएका छन् । साथै गिरीले व्यक्तिगत भन्दै पहिरोमा आफ्ना सन्तान गुमाएका  बिकास परियारका बाबु बमबहादुर परियारलाई नगद २० हजार रुपैया दिएका हुन् ।

 लस्तीखोला नियन्त्रण र बेरनेटाको बस्तीबाट बिस्थापितहरुको पुर्नस्थापनाका लागि कुनै कसर बाँकी नराख्ने आश्वासन समेत बाँडेका छन् । ‘बस्ती जोगाउन र पिडीतहरुको पर्नुस्थापनाका लागि स्थानियस्तरमा र राष्ट्रियस्तरमा सबै पहल गरिनेछ’ उनले भने ‘सबै पक्षको सहयोग र समन्वयका आधारमा तत्काल काम अघि बढाउन आवश्यक छ’  उनले भने ।

गाउँपालिकाको यस्तो निर्णय

यसैबिच जलजला गाउँपालिकाले पहिरोमा परि ज्यान गुमाएका तथा घरबार बिहीन भएका परिवारलाई राहत दिने निर्णय गरेको छ । गाउँपालिकाले मृतकको परिवारलाई ५० हजार राहत दिने निर्णय गरेको छ भने घाइते र घर बगाएर पविारलाई २५÷२५ हजारका दरमा राहत दिने निर्णय गरेको छ । पहिरोका कारण उच्च जोखिममा परेका घरलाई १० हजार नगद र १० थान जाली तथा पहिरोको जोखिममा परेका परिवारलाई ५ हजार नगद र ५ थान जाली बितरण गर्ने निर्णय गरेको वडा नं ८ का वडा अध्यक्ष हरिबिकास जिसीले बताए । उनले पिडीतहरुलाई सुरक्षित स्थान खोजेर आवास बनाउन आवश्यक भएको बताउँदै गाउँपालिकाले ठाउँ खोज्ने र केन्द्रले त्यसका लागि बजेटको ब्यबस्थापन गर्न पहल गरिदिन साँसद पदम गिरी संग आग्रह गरे ।

पहिरोबाट जलजला ८ का मात्रै २२ घर बिस्थापित भएका छन । पहिरोमा परेर स्थानिय सुकुम्बासी बस्तीका ९ घर पुर्ण क्षति भएका छन भने १४ घर आँशिक क्षति भएकाले जोखिममा छन । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!