प्रदेश ३ को नाम नेवा–ताम्सालिङ राख्नुपर्छः सांसद तामाङ

Posted on: 18 Aug, 2018

भदौ २, काठमाडौं । संघीय सांसद गंगाबहादुर तामाङ ‘वामध्वज’ले प्रदेश नम्बर ३ को नामा नेवा–ताम्सालिङ राख्दा ठीक हुने बताएका छन् । साथै प्रदेश नं. ३ को राजधानी काभ्रे हुनुपर्ने धारणा समेत उनले राखेका छन् । 

अनामनगरमा अवस्थित संवाद डबलीमा आयोजित नाङसाल क्लब नेपालको ९४औं साहित्य वाचन तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सांसद तामाङले आफूले त्यसनम्ति लागि पहल थालेको बताए । 

सांसद तामाङले आफूले निर्वाचनको बेला मतदातासँग प्रतिवद्धता जनाएको तेमालमा तामाङ संग्रहलय निर्माण निर्माण गरिछाड्ने र त्यसका लागि आवश्यक प्रक्रिया शुरु भइसकेको बताए । प्रदेशको यस नाममा सहमति जुटन नसके नेवा–ताम्सालिङ–बाग्मतीबारे पनि छलफल चलाउन सकिने उनको धारणा थियो । 

कार्यक्रममा तामाङले क्लबका सल्लाहकार ढकबहादुर घिसिङको ‘ताम्बा’ गीत सार्वजनिकीकरण गरेका थिए । साथै राजेन्दू ङ्यासुर, हिक्मत सिं वाइबा, दीर्घ तामाङ ङ्यासुर, ढकबहादुर घिसिङ र तीर्थमान बललाई प्रमुख अतिथि सांसद तामाङबाट सम्मानपत्रसहित सम्मान गरिएको थियो । 


कार्यक्रममा वाइबा समाजका अध्यक्ष विगेन्द्र वाइबा, चलचित्रकर्मी विनय दोङ, स्रष्टाहरु ङेमा गोले र धनकुमारी घिसिङ, गायक अशोक तामाङ, गायक तथा संगीतकार झोकलाल तामाङ, गायिका इन्दिरा गोले र समाजसेवी भीम तामाङ अतिथि थिए । 

कार्यक्रमका सभापतित्व क्लबका अध्यक्ष मिक्साङ वाइबाले गरेकी थिइन् । नाङसाल क्लब तामाङ समुदायकेन्द्रित साहित्यिक संस्था हो । यसले हरेक महिनाको पहिलो शनिबार साहित्यिक वाचन कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!