काठमाडौंमा मेयरको जिम्मेवारी वडाअध्यक्षलाई

Posted on: 12 Nov, 2018

कात्तिक २६, काठमाडौँ | काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी आज चीन प्रस्थान गरेका छन् । 

हुआन शहरमा यही कात्तिक २८ देखि ३० सम्म आयोजना हुने ‘चाइना इण्टरनेशनल फ्रेण्डसिप सिटिज कन्फरेन्स २०१८’ मा उनीहरुले भाग लिनेछन् । चाइनिज पिपुल्स एशोसिएसन फर फ्रेण्डसिप विथ फरेन कण्ट्रिज (सिपिएएफएफसी), चाइना इण्टरनेशनल फ्रेण्डसिप एशोसिएसन (सिआइएफसिए) र हुआन म्युनिसिपल्स पिपल्स गभर्मेन्टले उक्त सम्मेलन आयोजना गरेका हुन् । ‘विकासका अवसर र साझा जीतका लागि सहयोग बाँडफाँट’ विषयमा केन्द्रित सम्मेलनमा भगिनी सम्बन्ध भएका अन्तर्राष्ट्रिय नगर र सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता रहनेछ । 

आधुनिक र वातावरणमैत्री शहर निर्माण गर्न तथा साझा समृद्धिका लागि उन्नत अनुभव आदानप्रदान गर्न सम्मेलन आयोजना गरिएको हो । ल्हासा नगरले काठमाडौँ महानगरलाई निमन्त्रणा गरेको र ‘आउटस्ट्याण्डिङ फरेन फ्रेण्डसिप सिटी अफ टिबेट अटोनोमस अवार्ड’ का लागि मनोनयनसमेत गरेको छ सम्मेलनमा सहभागी भएर प्रमुखसहितको टोली शनिबार स्वदेश फर्कनेछ । सो अवधिमा महानगरको नियमित काम हेर्न वडा नं १ का वडाध्यक्ष भरतलाल श्रेष्ठलाई कार्यवाहक प्रमुखको जिम्मेवारी दिइएको छ ।

रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!