कोइराला परिवारसँग विवाद छैन: सभापति देउवा

Posted on: 20 Nov, 2018

मङ्सिर ४, विराटनगर | नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोइराला परिवारसँग आफ्नो कुनै विवाद नरहेको बताउनुभएको छ । 

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कोइराला परिवारका तीनवटै नेताबीचको एकताले पार्टीलाई सङ्गठित बनाउन थप मद्दत पुग्ने बताउनुभयो । कोइरालाबीचको एकताबाट गाउँ, नगर क्षेत्र तथा जिल्लामा समेत पार्टी सङ्गठन विस्तारमा सहयोग पुग्ने उहाँले जिकिर गर्नुभयो । सभापति देउवाले काङ्ग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका खेलिरहेको बताउँदै मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि सरकारलाई सदैव सहयोग रहने विचार व्यक्त गर्नुभयो । 

उहाँले तोकिएको समयमा पार्टीको महासमिति बैठक हुने बताउँदै त्यसपछि काङ्ग्रेसभित्र देखिएको विवाद हटेर जाने जिकिर गर्नुभयो । सभापति देउवाले पार्टीलाई सङ्गठित बनाउन आन्तरिक प्रशिक्षण आवश्यक रहेको बताउनुभयो । सभापति देउवाले काङ्ग्रेस प्रजातान्त्रिक विचार बोकेको पार्टी भएकाले पार्टीभित्रका आन्तरिक विवादलाई गुट–उपगुट भन्न नमिल्ने धारणा व्यक्त गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!