राष्ट्रियसभाबाट पाँच विधेयक पारित

Posted on: 18 Mar, 2019

चैत ४, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले पाँच विधेयक सर्वसम्मतिले पारित गरेको छ । सभाको बैठकले सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक २०७५, लेखापरीक्षण विधेयक २०७५, जीवनाशक विषादी व्यवस्थापन विधेयक २०७५ र विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयक २०७५ सर्वसम्मतिले पारित गरेको हो । 

यसैगरी प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक २०७५ लाई प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनःपारित गरिएको छ । बैठकले उक्त विधेयक सर्वसम्मतिले पुनःपारित गरेको हो । बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त संशोधन स्वीकार गरी पुनःपारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले ‘सार्वजनिक–निजी साझेदारी तथा लगानी विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उहाँले नै ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) र ‘लेखापरीक्षण विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । कृषि तथा पशुपक्षी विकासमन्त्रीका तर्फबाट डा खतिवडाले नै ‘जीवनाशक विषादी व्यवस्थापन विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले ‘विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयकसम्बन्धी प्रस्ताव प्रस्तुत गर्र्नुभएको थियो । 

सदस्यता हेरफेर 

विषयगत समितिका दुई सदस्यको सदस्यता हेरफेर गरिएको छ । सांसद प्रकाश पन्थ र बद्रीप्रसाद पाण्डेको सदस्यता हेरफेर गरिएको हो । सांसद पन्थ राष्ट्रिय सरोकार तथा समन्वय समितिबाट विधायन व्यवस्थापन समितिमा र सांसद पाण्डे विधायन व्यवस्थापन समितिबाट राष्ट्रिय सरोकार समितिका सदस्य बन्नुभएको छ । राष्ट्रियसभाको अर्को बैठक यही चैत ५ गते अपराह्न १ बजे बस्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!