विप्लवका नेता पक्राउ प्रकरणः काभ्रेबाट कहाँ जाँदै थिए हेमन्तप्रकाश ओली ?

Posted on: 23 Mar, 2019

चैत ९, काठमाडौं | प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मध्य कमाण्ड इञ्चार्ज सुदर्शन भनिने हेमन्तप्रकाश वलीसहित नौ जना नेता कार्यकर्ता शनिबार बिहान काभ्रेबाट पक्राउ परेका छन् । 

प्रहरी स्रोतका अनुसार वलीसहितको टोली काभ्रेपलाञ्चोकबाट बिहान ललितपुर हुँदै काठामाडौँ आउँदै थियो ।  सो सूचना पाएको प्रहरीको विशेष टोलीले काभ्रेको खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकैबाट उनीहरुलाई पक्राउ गरेको हो । 

बा१७ च ४८९३ नं को स्कारपियो गाडीमा वलीसहितका नेता कार्यकर्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई काभ्रे र ललितपुर जिल्लाको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च–अप्रेशन’का क्रममा पक्राउ गरेको थियो । 

पक्राउ पर्ने वलीसहित अन्यमा धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शङ्कर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का रहेका छन् । 

काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा गत मङ्गलबार साँझ ‘सर्च’मा गएको महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव नेकपाका कार्यकर्ता मेची नगरपालिका–३ का ३३ वर्षीय शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षीय विशाल तामाङलाई पक्राउ गरेको थियो । सो सर्च अप्रेशनका क्रममा वली भाग्न सफल भएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!