विप्लब नेकपाका नेता 'सुदर्शन' सहित ९ जना पक्राउ परेपछि माओवादी केन्द्रको यस्तो बिज्ञप्ति

Posted on: 24 Mar, 2019

चैत १०, काठमाडौँ | विप्लब नेतृत्वको नेकपाका स्थायी सदस्य हेमन्त प्रकाश ओली 'सुदर्शन' लगायत ९ जना नेता-कार्यकर्ताहरु पक्राउ परेपछि नेकपा माओवादी केन्द्रले बिना सर्त रिहाईको माग गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । चैत ८ गते राति काभ्रेको खानीखोला गाउँपालिका ७ मिल्चे स्थित बोरेनी नजिकबाट सरकारपक्षले 'सुदर्शन' सहित ९ जनालाई पक्राउ गरेको थियो । 

तश्वीरमा: नेकपाका स्थायी सदस्य हेमन्त प्रकाश ओली 'सुदर्शन' 

पुनर्गठित माओवादी केन्द्रद्वारा जारी बिज्ञप्तिमा देशभरीनै भईरहेको धरपकडले संविधानले दिएको अधिकार समेत हनन् गरी जनविरोधी कृयाकलाप पर्दर्शन गरेर केपी ओली सरकार असफलताको दिशातर्फ जान खोजेको प्रष्ट संकेत भएको उल्लेख गरिएको छ । 

माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकी (शुसील) मार्फत जारी बिज्ञप्तिमा देश भ्रष्टाचारले आक्रान्त बनेको, केन्द्र प्रदेश र स्थानीय तहबीच समन्वय नगरेर योजनाबद्ध ढंगले सरकारले संघीयता असफल पार्न खोजेको, दक्षिणपन्थी शंक्तिहरु, सरकारको संरक्षणमा रहेका शक्ति र संस्थाहरुले खुलेयाम रुपमा धार्मिक द्वन्द सृजना गर्दै देशलाई असफल बनाउन खोजेको बताइएको छ । बिज्ञप्तिमा राष्ट्रियतामा आंच दिने समुहसंग अस्वभाविक सम्बन्ध जोडेर तथा धार्मिक आन्दोलनलाई बैधानिकता दिएर नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक आन्दोलनलाई प्रतिबन्ध लगाउनुले केपी ओली सरकारप्रति नै शंका उत्पन्न गराएको उल्लेख छ ।

माओवादी केन्द्रको बिज्ञप्तिको अन्त्यमा क्रान्तिकारी आन्दोलन दमन धरपकडबाट नियन्त्रण गर्न नसकिने भन्दै विप्लव नेतृत्वको नेकपा र सरकार पक्ष दुवैलाई वार्ता गर्न आग्रह गरिएको छ । 'नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकास ओली लगायत देशभरका नेता कार्यकर्तालाई बिना सर्त रिहाईको लागि सरकार समक्ष नेकपा (माओवादी केन्द्र) जोडदार माग गर्दछ' विज्ञप्तिमा भनिएको छ ।

यस्तो छ, माओवादी केन्द्रको प्रेस बिज्ञप्ति:


यस बिषयमा तपाइको प्रतिक्रिया...!