काङ्ग्रेस संसदीय दलको बैठक बस्दै

Posted on: 25 Mar, 2019

चैत ११, काठमाडौँ | समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ । 

बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । साथै बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिनुभयो । 

सङ्घीय संसद्को तेस्रो अधिवेशन आइतबारबाट सम्पन्न भएको छ । विधेयक अधिवेशनका नामले समेत चिनिने यस अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबीचको समझदारीका कारण अधिकांश विधेयक सहमतिका आधारमा पारित भएका थिए । 

आइतबार प्रतिनिधिसभाको हिउँदे अधिवेशन समापनका अवसरमा संसद बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विधेयक सहमतिमा पारित हुनु ठूलो उपलब्धी भएको बताउनुभएको थियो । 

सोही अवसरमा काङ्ग्रेसका तर्फबाट पार्टी संसदीय दलका उपनेता विजयकुमार गच्छदारले सरकारका राम्रा काममा रचनात्मक सहयोग हुने बताउनुभएको थियो । साथै उहाँले सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र सूचना प्रविधिसम्बन्धी विधेयकका केही बुँदा मुलुक र जनताको हितमा नभएको भन्दै संसदबाट ती विधेयक फिर्ता गर्न माग गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!