पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्छः नेता डा कोइराला

Posted on: 18 May, 2019

जेठ ४, काठमाडौँ | नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस चितवन–काठमाडौँ सम्पर्क समाजले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा जागरण अभियान’कार्यक्रममा बोल्दै उहाँले काँग्रेस पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै १४औँ महाधिवेशन गराउन लाग्नुपर्ने बेला आएको बताउनुभयो । 

“सभापति पार्टीभित्र गुट, उपगुट भयो भन्दै आफैँ गुट चलाउन लाग्नुभएको छ, यसले पार्टीलाई फाइदा पुग्दैन,”–उहाँले भन्नुभयो । पार्टीभित्र देखिएको विवाद मिलाउन सभापति लाग्नुपर्ने उहाँको भनाइ थियो । 

नेता डा कोइरालाले मानव अधिकारसम्बन्धी विधेयक, मिडिया काउन्सिल विधेयक र राष्ट्रिय सुरक्षा विधेयक तत्काल सरकारले फिर्ता लिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “महङ्गी, भ्रष्टाचार, शान्ति सुरक्षा, दण्डहिनताको अन्त्यका लागि काङ्ग्रेस अग्रसर हुनुपर्दछ ।’’ 

सो अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विधि र विधानअनुसार काङ्ग्रेस अगाडि बढ्नुपर्ने बताउनुभयो । “काङ्ग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुन्छ, काङ्ग्रेस बलियो बनाउन पार्टी विधि र विधानअनुसार चल्नुपर्छ,”–उहाँले भन्नुभयो । 

काङ्ग्रेस जागरण अभियान चितवनका केन्द्रीय प्रतिनिधि सुरेन्द्रप्रसाद चौधरीले जागरण अभियानले पार्टीभित्र जागरण पैदा गराउने बताउनुभयो । “जागरण अभियानले पार्टीलाई थप बलियो बनाउन मद्दत पुग्छ,”–उहाँले भन्नुभयो । नेपाल महिला सङ्घ अध्यक्ष उमा रेग्मीले पार्टीभिक्र महिलालाई सशत्त बनाएर अगाडि बढाउन नसकेसम्म काङ्ग्रेस बलियो हुन नसक्ने बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!