सरकारले विप्लव समूहका नेता प्रकाण्ड सहित तीन नेतालाई विभूषित गर्ने !

Posted on: 27 May, 2019

जेठ १३, काठमाडौं । सरकारद्वारा प्रतिबन्धत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू समेत सम्मानित हुने भएका छन् । गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहितका अन्य नेताहरूलाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।


यस अघि पूर्वमन्त्री समेत रहेका विश्वकर्मा २०६४ सालमा कालीकोट-१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । उनलाई विप्लव समूहको दोश्रो कमाण्डको नेता मानिन्छ । विश्वकर्मा सँगै विप्लव समूहका अर्का नेता सन्तोषकुमार बुढा मगरलाई पनि संविधानसभा पदक दिईने भएको छ । मगरले २०६४ सालमा रोल्पा-२ बाट चुनाव जितेका थिए । 


यस्तै, विप्लव समूहकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई पनि सरकारले गणतन्त्र दिवसको अवसरमा विभूषित गर्ने भएको छ । उनि २०६४ सालको संविधानसभा चुनावमा गोरखाबाट समानुपातिक सभासद बनेकी थिइन् । उमालाई २०७५ भदौमा आगजनी सम्बन्धी मुद्दामा बालाजु प्रहरीले पक्राउ समेत गरेको थियो । 


राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना हुने समारोहमा संविधान निर्माणमा उल्लेखनीय योगदान पुर्‍याए बापत भन्दै उनीहरूलाई विभूषित गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । विभूषित हुनेहरुको पहिलो नम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारी, दोस्रोमा प्रधानमन्त्री केपी शर्मा ओली, तेस्रोमा सभामुख कृष्णबहादुर महरा, चौथोमा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पाँचौमा उपप्रधानमन्त्री उपेन्द्र यादवको नाम छ । त्यसपछि लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा, गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई र सुशील कोइरालाको नाम छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!