ट्रम्पको पत्र किमले पढेपछि .....

Posted on: 23 Jun, 2019

असार ८, (रासस-सिन्ह्वा) | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाउनु भएको पत्र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले प्राप्त गर्नुभएको छ ।उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन केन्द्रीय न्युज एजेन्सीले आइतबार जनाएअनुसार ट्रम्पको व्यक्तिगत पत्र किमले प्राप्त गर्नुभएको हो ।

पत्र पढेपछि सर्वोच्च नेता किमले पत्रप्रति सन्तुष्टी जनाउनु भएको पनि समाचारमा उल्लेख गरिएको छ । उहाँले भन्नुभएको छ, “पत्रमा गज्जबको विषयबस्तु लेखिएको छ ।”किमले त्यसमा रहेको चाखलाग्दो विषयमा गहन ढङ्गले सोचविचार गर्ने आशय व्यक्त गर्नु भएको बताइएको छ । तर उहाँले पत्रमा के विषयबस्तु उल्लेख गरिएको छ भन्ने बारेमा भने कुनै जानकारी दिनु भएको छैन । त्यसैगरी अहिले ट्रम्पको पत्र कसरी र कहिले किमलाई पठाइयो भन्ने बारेमा पनि खुलासा गरिएको छैन । त्यसबारे अमेरिकाले पनि कुनै प्रतिक्रिया जनाएको छैन ।

 गत फेब्रुअरीमा भियतनाममा ट्रम्प र किमबीचको दोस्रो शिखर बैठक विनाकुनै निष्कर्ष टुङ्गिएको थियो । त्यसपछि अमेरिका र उत्तर कोरियाबीचको वार्ता अनिश्चित रहेको छ ।

उत्तर कोरियाले परमाणु कार्यक्रम परित्याग गर्नु पर्ने अमेरिकाको चाहना र आफूविरुद्ध लगाइएका प्रतिबन्धहरू फुकुवा हुनु पर्ने उत्तर कोरियाको अडानका कारण सम्बन्ध सुमधुर हुन नसकेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!