बहुविवाहको मुद्दामा सांसदलाई १ बर्ष जेल सजाय ! अदालतले प्रदेशलाई पठायो पत्र

Posted on: 12 Sep, 2019

भदौ २६, जनकपुरधाम । बहुविवाह मुद्दामा अदालतबाट जेल सजाय पाएका प्रदेश २ का सांसद दिलिपकुमार साहको बिषयमा अदालतले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ । 

तात्कालिन नेकपा माओवादी केन्द्रका नेता तथा हालका नेकपाका सांसद दिलिपकुमार साहलाई बहुविवाह मुद्दामा धनुषा जिल्ला अदालतले एक बर्षको कैद सजाय र ५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । २०७२ साल जेठ १३ गते नै धनुषा जिल्ला अदालतले साहबिरुद्व यो फैसला सुनाएको थियो । 

जिल्ला अदालतको यो फैसलाबिरुद्व साहले पुनरावेदन अदालतमा पुनरावेदन गर्दा पुनरावेदन (अहिलेको उच्च अदालत) ले पनि जिल्ला अदालतकै फैसलालाई सदर गरेको थियो । २०७६ साल असार २५ गते उच्च अदालतले सोही फैसलालाई सदर गरेपछि जिल्ला अदालतले यो जानकारी प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको छ । 

जिल्ला अदालतले हालै प्रदेशसभालाई फैसलाबारे जानकारी गराएको छ । सांसद साहकी जेठी पत्नी संगीता देवी यादवको जाहेरीले जिल्ला अदालतले साहबिरुद्व यस्तो फैसला गरेको हो । साह प्रदेशसभाको निर्वाचनमा सिरहाको क्षेत्र नम्बर १ को क बाट निर्वाचित भएका हुन् ।

साह तत्कालिन नेकपा माओवादीमा लागेको बखत २०५७ सालमा संगीतासँग अन्तरजातीय विवाह गरेका थिए । दिलिप र संगीताबाट दुई जना छोरा जन्मेका छन् । आफ्नो श्रीमती र दुई छोरा हुँदाहुँदै दिलिपले २०७० साल माघ १ गते धनुषाकै जानकीसँग अर्को विवाह गरेपछि संगीताले जिल्ला अदालतमा बहुविवाह मुद्दा दर्ता गराएकी थिइन् ।

दिलिपकी जेठी पत्नी संगीता बर्तमान उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवकी छोरी हुन् । माओवादी सशस्त्र युद्धका बेला दुबैले विवाह गर्दा मातृकाले पनि समर्थन जनाएका थिए ।

उनलाई फैसला सुनाइएको पत्र प्रदेशसभा सचिवालयमा गएपछि यसबारेमा के गर्ने भनेर मुख्य न्यायाधिवक्ता कार्यालयसँग राय मागिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!