प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठनः ७ मन्त्रीको पद खोसियो (सूचीसहित)

Posted on: 20 Nov, 2019

मङ्सिर ४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । पुनर्गठन भएको नयाँ मन्त्रीमण्डलमा  केही मन्त्रीलाई हटाइएको छ भने केहीलाई नयाँ नियुक्त गरिएको छ । 

बुधबार साँझ केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाइएको थियो । राष्ट्रपति  विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषदमा  मन्त्रिपरिषद् गठन गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिएका छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुँदैछन् ।

पूर्व एमालेको कोटाबाट मन्त्री भएका भौतिकपूर्वाधामन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापालाई हटाइएको छ । यस्तै पूर्व माओवादीको कोटाबाट मन्त्री भएका कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ । 

प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा बसन्त नेम्वाङ, कृषि पशुपंक्षी विकास मन्त्रीमा घनश्याम भुसाल, संघीय मामिला तथा सामान्य प्रशांसन मन्त्रीमा हृदयेश त्रिपाठीलाई  नियुक्त गरेका छन् । लेखराज भट्टलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री,   महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय मन्त्रीमा पार्वत गुरुङ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा महेश्वर राय नियुक्त भएका छन् । मोतिलाल दुगड उद्योग वाणिज्य आपूर्ति राज्यमन्त्री भएका छन् भने रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री बनेका छन् ।

प्रधानमन्त्री निकट स्रोतका अनुसार उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहनेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!