मन्त्रिपरिषदको बैठक बस्दै, विदेशमा अलपत्र नेपालीको उद्दार र कोरोना रोकथाममा केन्द्रित हुने

Posted on: 22 May, 2020

जेठ ९, काठमाडौं । मन्त्रिपरिषदको बैठक शुक्रबार बस्दैछ । 

प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बस्ने बैठकमा कोरोना रोकथाम, विदेशमा अलपत्र नेपालीका समस्या लगायतका विषयमा छलफल हुने एक मन्त्रीले बताएका छन् ।

केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने मोडालिटीको विषयमा छलफल भएको थियो ।

शुक्रबारको मन्त्रिपरिषद बैठकमा त्यो विषयले प्रवेश पाउने सम्भावना छ । त्यसैगरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा पनि मन्त्रिपरिषदमा छलफल हुने एक मन्त्रीले बताए ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले विदेशमा अलपत्र परेका र नेपाल आउन चाहनेलाई नेपाल ल्याउन अझै ठोस योजना बनाएर निर्णय हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले जानकारी दिएका थिए । उक्त वैठकमा विदेशमा रहेका नेपालीलाई स्वदेश ल्याउँदा कस्तो अवस्थामा रहेकालाई पहिलो प्राथमिकता दिने भन्नेबारे छलफल भएको थियो ।

बैठकले विदेशबाट नेपाल ल्याउने ठोस योजना बनेपछि कूटनीतिक ढंगले पहलकदमी अगाडि बढाउने छलफल गरेको थियो । जसको योजना बनाउने जिम्मा परराष्ट्र मन्त्रालयले पाएको छ । वैदेशिक रोजगारी तथा अध्ययनको शिलशिलामा कयौं नेपालीहरु समस्यामा परिरहेको अवस्थामा तत्काल निर्णय आउने आशा गरिएको छ तर कहिलेसम्म उनीहरुलाई स्वदेश ल्याउने भन्नेबारे यसअघिका बैठकहरुले निर्णय गर्न सकेको छैन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!